महादेवको मूर्ति हेर्नेको घुइँचो

कास्की ।

तिहारमा टीका नभएकाले बिदा मनाउन सिन्धुलीका ३१ वर्षीय दिनेश घिमिरे हालै पोखरा आए । उनी पहिलो पटक परिवारसहित पुम्दीभुम्दीमा रहेको महादेवको मूर्ति हेर्न पुगे । यतिबेला महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यो ठाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्दै आएको छ ।

भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपियो -

स्याङ्जा पुतलीबजार घर भई हाल पोखरा–१७ विरौटा बस्ने सन्ध्या क्षत्री पनि फुर्सदमा मूर्तिस्थल पुग्ने बताउँछिन् । ‘त्यहाँ पुगेपछि छुट्टै रमाइलो हुन्छ,’ उनले भनिन्, ‘पोखरा बजार हेर्न पाइने, चहलपहल, फराकिलो ठाउँ ।’ पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोटमा महादेवको मूर्ति खडा गरिएको छ ।

पुम्दीकोटमा महादेवको मूर्ति

एक वर्षअघि जडान गरिएको मूर्ति परिसरभित्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । ४० करोडको परियोजनामा २० करोड रुपैयाँ खर्च भइसकेको छ । पोखरा आउने पर्यटकलाई थप एक दिन बस्न समय लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको विकास गरिने उनको भनाइ छ । भारतबाट ल्याइएको मूर्तिका लागि महायज्ञबाट ८ करोड रुपैयाँ संकलन भएको थियो ।

भारतीय कालिगडले लिफ्ट र क्रेनको सहायताले मूर्ति जडान गरेका हुन् । भारतको मथुरामा बनाइएको करिब ६ टन तौल बराबरको मूर्तिको विभिन्न भाग जडानमा २० जना कामदार खटिएको अध्यक्ष बरालले जनाए । सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मूर्ति जडान गर्न एक महिना लागेको थियो । भारतबाट उक्त मूर्तिको भागलाई १२ वटा गाडीमार्फत गत वर्षको असोज २५ मा पुम्दीकोटमा पुर्‍याइएको बरालले बताए । ‘धार्मिक या घुम्न आउने पर्यटकको लागि जुनसुकै बेला पनि खुला गरिएको छ’ उनले भने । उक्त मूर्ति भारतका कलाकार पिपुल अग्रवालले बनाएका हुन् ।

कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *