माइतीघरमा सञ्चारकर्मीको विरोधसभा, दोषीमाथि कारबाहीको माग

काठमाण्डौ ।

राजसंस्थाको पुनर्स्थानाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरुले माइतीघरमा विरोधसभा गरेका छन् । नेपाल पत्रकार महासंघको आव्हानमा भेला भएका सञ्चारकर्मीहरुले शुक्रबार भएको घटनाको गम्भीर रुपमा छानबीन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रुप लिएको पत्रकार महासंघले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईकाे नेतृत्वमा भउकाे आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियाे।

प्रदर्शनकारीले अन्नपूर्णपोस्ट, हिमालयन टिभी, कान्तिपुर लगायतका सञ्चार गृह तथा सवारी साधनमा आक्रमण तथा तोडफोड गरेका थिए ।

माइतीघरमा भएको प्रदर्शन र कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले उक्त घटनाका दोषिमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सञ्चारकर्मीहरुलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार हनन् भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *