पर्वत ।
श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन माेदी गाउँ पालिकाकाे वडा नं ४ काे लेस्पारमा रहेकाे सहश्रधारामा बिहानैदेखि वर माग्ने मेला लागेकाे छ । हरेक वर्ष लाग्ने मेला भर्न टाढा टाढाबाट हजाराै भक्तजनहरू लेस्पारकाे सहश्रधारामा पुग्ने गर्दछन् । सो स्थानमा पूजा गर्न तथा बर माग्न जनै पूर्णीमाकाे अघिल्लो दिन देखि नै भक्तजनहरूको भीड लागेको छ ।
आफूले चिताएकाे मनाेकांक्षाा पूरा गराउनकाे लागि बर माग्न भक्तजनहरू यहाँ आएर पूजाआजा गर्ने गर्दछन्। करिब २६०० मिटर उचाइमा रहेकाे सहश्रधारामा बराह र बाराही देवीका मन्दिरहरू रहेका छन् । ती मन्दिरहरूमा स्थानीय मगर जातिका पुजारीहरुले पूजा गर्ने गर्दछन् । त्यहाँ पुगेर वर मागेपछि मनाेकांक्षाा पूरा हुने विश्वास रही आएकाे छ ।
पहिले सहस्रधारामा पुग्न भक्तजनहरूले निकै कठिनाई भोग्ने गर्दथे। कठिन यात्रा र ओढारको बास बस्नु पर्दथ्यो । तर पछिल्ला वर्षहरूमा सडक, सिँढी, सत्तल तथा अन्य पूर्वाधारहरुको निर्माण गरिए सँगै सहजता भएको छ । पाहुनाहरुको लागि नजिकैको गाउँमा होम स्टेको समेत व्यवस्था मिलाइएको पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।












