पर्वत ।
पर्वतको मोदी गाउँपालिका–४ क्याङमा स्याउ खेतीले राम्रो सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब २ हजार मिटरको उचाइमा रहेको क्याङमा भारतीय सेनाबाट अवकाशप्राप्त स्थानीय कृषक लालबहादुर शेरपुर्जा पुनले सयभन्दा बढी स्याउका बिरुवा हुर्काएर उत्पादन लिन सफल भएपछि यस क्षेत्रमा व्यावसायिक स्याउ खेतीको सम्भावना देखिएको हो।
पुनले आफ्नो बगैंचामा किङरोड, फुजी, गाला र गोल्डेन जातका स्याउ लगाउनुभएको छ। सुरुमा सामान्य परीक्षणका रूपमा गरिएको खेतीबाट उत्पादन लिन थालेपछि उहाँ उत्साहित हुनुहुन्छ। आधुनिक कृषि प्रविधिबारे औपचारिक तालिमभन्दा पनि इन्टरनेट तथा युट्युबमार्फत खेतीसम्बन्धी जानकारी लिएर स्याउ खेती सुरु गर्नुभएको पुनको भनाइ छ।
उच्च पहाडी क्षेत्रमा स्याउ खेतीका लागि उपयुक्त वातावरण रहेको महसुस भएपछि पुनले आफ्नै बारीमा विभिन्न जातका स्याउका बिरुवा लगाउनुभएको थियो। नियमित हेरचाह, मलजल तथा आवश्यक व्यवस्थापन गर्दै जाँदा बिरुवा हुर्किएर फल दिन थालेपछि स्थानीयस्तरमै स्याउ उत्पादन गर्न सकिने सम्भावना पुष्टि भएको हो।
पुनको बगैंचामा स्याउ फलेपछि क्याङका साथै छिमेकी भुक र चित्रे क्षेत्रका कृषकसमेत यस खेतीतर्फ आकर्षित हुन थालेका छन्। यसअघि परम्परागत रूपमा विभिन्न खाद्यान्न तथा फलफूल खेती गर्दै आएका कृषकहरूले पनि उच्च भूभागमा स्याउ खेती विस्तार गर्न सकिनेबारे चासो देखाउन थालेका हुन्।
स्थानीय कृषकहरूका अनुसार आफ्नै गाउँमा स्याउ उत्पादन भएको देखेपछि बाहिरबाट बिरुवा ल्याएर परीक्षण गर्ने तथा बगैंचा विस्तार गर्ने रुचि बढेको छ। स्याउ खेती सफल भएपछि स्थानीय कृषकको आम्दानी बढ्नुका साथै गाउँमै रोजगारी सिर्जना गर्न र बाह्य क्षेत्रबाट आउने स्याउमा निर्भरता घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि प्राविधिकहरूले पनि क्याङ, भुक र चित्रेका माथिल्ला क्षेत्र स्याउ खेतीका लागि सम्भावनायुक्त रहेको बताएका छन्। यहाँको उचाइ, चिसो हावापानी र भौगोलिक अवस्थालाई स्याउ उत्पादनका लागि उपयोग गर्न सके व्यावसायिक खेती विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। यद्यपि व्यावसायिक उत्पादनका लागि उपयुक्त जात छनोट, गुणस्तरीय बिरुवा, रोग–कीरा व्यवस्थापन, सिँचाइ, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
पुनको बगैंचाले स्थानीयस्तरमा नयाँ कृषि सम्भावनाको ढोका खोलेको छ। एक जना कृषकले आफ्नै प्रयासमा सुरु गरेको परीक्षण सफल भएपछि अहिले क्याङको माथिल्लो भेगमा स्याउ खेतीलाई वैकल्पिक आयआर्जनको माध्यमका रूपमा हेर्न थालिएको छ।
स्थानीय तह र सम्बन्धित कृषि निकायले किसानलाई गुणस्तरीय बिरुवा, प्राविधिक परामर्श, तालिम तथा बजार व्यवस्थापनमा सहयोग गर्न सके क्याङसहित पर्वतका उच्च पहाडी क्षेत्रमा स्याउ खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने देखिन्छ। पुनको बगैंचामा फलेको स्याउ त्यसैको एउटा उदाहरण बनेको छ।