पर्वत।
स्थानीय पाठ्यक्रम निर्माण गरी भदौ महिना देखि परीक्षणको रूपमा कार्यान्वयन गरिरहेको मोदी गाँउपालिकाले स्थानीय पाठ्यक्रम (हाम्रो मोदी)कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तहले स्थानीय परिवेशअनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयनका क्रममा आई परेका समस्याका सन्दर्भमा शिक्षकहरुसँग अन्तरकृया तथा छलफल गरी पाठ्यपुस्तक र पाठ्यसामग्री निर्माण गर्ने उद्देश्यका साथ सुझाव लिनका लागि कार्यक्रम गरिएको गाँउपालिकाले जनाएको छ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम ” हाम्रो मोदी” लेखनमा सहभागी बिषयगत शिक्षकहरु, विषयविज्ञहरू र शैक्षिक सरोकारवालाहरूको सहभागिता थियो। विज्ञहरूले स्थानीय पाठ्यक्रमले मोदीको चिनारी गराउने र यहाँको समृद्धिका लागि यहीँको समुदायबाट जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। मोदीले बनाएको स्थानीय पाठ्यक्रम अरु स्थानीय तहका लागि पनि उपयोगी दस्तावेज रहने जनाईएको छ ।अन्तर्क्रियामा बालबालिकालाई समुदायसंग जोड्ने र समुदायबाटै केही कुरा सिक्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिईएको थियो ।
मोदीले आधारभूत तह कक्षा १ देखि ८ सम्म पठन पाठन हुने गरी एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम तयार पारेको छ।मोदीमा ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, आर्थिक, समाजिक र विविध विषयहरु समेटेर मोदीको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको जनाईएको छ ।
कार्यक्रममा शिक्षक भुमिराज शर्मा, कुमार उपाध्याय, लक्ष्मण गौतम र लक्ष्मण शर्माको प्रस्तुतीकरण रहेको थियो भने मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्मा, सामाजिक विकास समिती संयोजक शुक बहादुर गुरुङ , उपाध्यक्ष बिमल लामिछाने, प्रशासकीय अधिकृत प्रविन पोख्रेल, सामाजिक शाखा प्रमुख दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम मोदी गाँउपालिकाका संस्थापनकालका अध्यक्ष तथा स्थानीय पाठ्यसामग्री विकास कार्यदलका सल्लाहकार प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको संचालन शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले गर्नु भएको थियो ।


