पर्वत ।
मोदी गाउँपालिकाको चौधौ गाउँ सभा हिजो आइतबार पातीचौरमा सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मोदी गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ । आइतबार सम्पन्न हिउँदे गाउँसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएकाे हो ।
मोदी गाँउपालिकाको १४ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको मोदी सभाहलमा सम्पन्न गाउँ सभाले चालु आर्थिक बर्षको संसोधित बजेटलाई सर्वसहमतिले पारित गरेको छ ।गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेद्धारा प्रस्तुत बजेट गाउँ सभाले सर्वसहमत पारित गरेको हो । गाउँ सभामा मोदी २ का वडा सदस्य जीतबहादुर पुनको मृत्यु प्रति सभाले दुःख ब्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको छ ।उपाध्यक्ष लामिछानेले झण्डै डेढ करोड बढि रकमलाई संसोधन प्रस्ताव मार्फत प्रस्तुत गर्नुभएको थियो ।
संसोधित बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै गाउँपालिकाको चित्रेमा सञ्चालीत आवासीय विद्यालयका लागि ७ लाख रकम विनियोजन गरिएको छ । संसोधित बजेटमा लघु उद्यमीहरुको बजारीकरणका लागि हाट बजार सञ्चालन गर्नका लागि ३ लाख रकम संसोधन मार्फत पारित गरिएको छ ।गाउँपालिकाले अध्यक्षसंग दिदिवहिनी कार्यक्रम र उपाध्यक्षसंग युवा कार्यक्रमको बजेट समेतलाई घटाएको छ । दुवै कार्यक्रमका लागि २५/२५ लाख विनियोजन गरिएकोमा संसोधित बजेट मार्फत ६ लाख घटाइएको छ । उक्त कार्यक्रमहरु सञ्चालनका लागि समेत योजनागत रुपमा बजेट विनियोजन गरिएको छ । संसोधित बजेटमा समपुरक आयोजनाका शीर्षकहरुमा समेत परिर्वतन गरी भौतिक पूर्वाधार आयोजनाहरुलाई पारित गरेको छ ।
गाउँ सभाले न्यायिक समितिको कार्यविधि संबन्धी ऐनलाई संसोधन गर्दै मेलमिलापकर्ताको योग्यतालाई संसोधन गरेको छ । संशोधित ऐनमा मेलमिलापकर्ताको उमेर हद १८ बर्ष र शैक्षिक योग्यता आधारभूत तह कायम गरिएको छ । उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लामिछानेले संसोधित ऐन गाउँ सभामा प्रस्तुत गर्नु भएको हो ।
गाउँ सभाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७५ लाई समेत संशोधन गरेको छ ।शिक्षा समितिका संयोजक सुकबहादुर गुरुङले प्रस्तुत गरेको उक्त ऐनलाई गाउँ सभाले संशोधन गरी पारित गरेको हो । गाउँ सभा अध्यक्ष हिरादेवी शर्माले गाउँ सभा सम्पन्न गर्ने सवैलाई धन्यवाद ब्यक्त गर्दै योजनाको प्रभावकारी कार्यान्वयनका लागि जुट्न आग्रह गर्नु भयो ।
