पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि कुल ७५ करोड १९ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष विमल लामिछानेले पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
चालुतर्फ ५३ करोड र पुँजीगततर्फ २२ करोड विनियोजन
प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. ५३ करोड १३ लाख ८० हजार र पुँजीगततर्फ रु. २२ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, ससर्त, समपूरक र विशेष अनुदान तथा आन्तरिक आयलाई मुख्य आधार मानेर तयार पारिएको गाउँपालिकाले जनाएको छ।
शिक्षा क्षेत्र सुधारका लागि २ करोड ७९ लाख
गाउँपालिकाले शिक्षा क्षेत्रतर्फ विशेष ध्यान दिँदै आवासीय विद्यालयको विकास तथा विस्तार, राष्ट्रपति रनिङ शिल्ड, स्काउट गतिविधि, ‘पढ्दै कमाउँदै–सिक्दै रमाउँदै’ कार्यक्रम तथा डिजिटल र प्रविधिमैत्री शिक्षण प्रणाली विस्तारका लागि २ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै, प्रारम्भिक बालविकास (ECD) शिक्षक, सामुदायिक सिकाई केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीको मनोबल वृद्धि गर्न थप सुविधा उपलब्ध गराइने नीति लिइएको छ। विद्यालयहरूमा पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको उपलब्धता, शिक्षकको पेसागत क्षमता विकास, आधारभूत शिक्षा परीक्षा व्यवस्थापन, विद्यार्थी दिवा खाजा कार्यक्रम र स्थानीय पाठ्यपुस्तक विकासलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ।
महिला उद्यमशीलता र सामाजिक समावेशीकरण
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, सीप विकास तथा आयआर्जन प्रवर्द्धनका साथै बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक सम्मान र अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणलाई बजेटले प्राथमिकता दिएको छ। उपाध्यक्ष लामिछानेका अनुसार प्रस्तुत बजेटले शिक्षा सुधार, सामाजिक विकास, महिला सशक्तीकरण तथा समावेशी विकासलाई केन्द्रमा राख्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
सडक, पर्यटन र कृषिको व्यवसायीकरण
गाउँ पालिकाको बजेटमा गिज्यान् – अम्बोट जोड्ने सडकको मोदी खोलामा पक्की पुल निर्माणका लागि एक करोड रकम विनियोजन गरिएको छ । त्यसै गरी वडा नं ६ को गाडतारा – गिज्यान – ठाना – तिलाहार – थामार्जुङ सडक स्तरोन्नतिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।
यसअघि गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष शर्माका अनुसार गाउँपालिकाको समृद्धिका लागि सडक पूर्वाधार, पर्यटन विकास, कृषिलाई व्यवसायीकरण गर्दै युवा रोजगार, महिला उद्यमशीलता र सहकारी सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रमअनुसार घरेलु तथा महिला उद्यमलाई विशेष प्राथमिकता दिँदै स्टार्टअप सञ्चालनका लागि ब्याज सहुलियत तथा अनुदानको व्यवस्था गरिने र सहकारी संस्थाहरूको प्रभावकारी अनुगमन तथा नियमन गरिनेछ।
प्रत्येक वडामा ‘विकास दस्ता’ गठन गरिने
युवाहरू लक्षित ‘युवासँग उपाध्यक्ष’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गरिने नीति लिइएको छ। वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वरोजगार बन्न चाहने युवाहरूलाई स्टार्टअप पूँजी उपलब्ध गराइने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, बेरोजगार युवाहरूलाई समेटेर प्रत्येक वडामा ‘वडा स्तरीय विकास दस्ता’ गठन गरिने भएको छ। उक्त दस्तालाई विपद्का समयमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा परिचालन गरिनुका साथै विभिन्न क्षेत्रमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिने बजेटमा समेटिएको छ।
वित्तीय अनुशासन, पारदर्शिता र सुशासन
वित्तीय अनुशासन, पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राख्ने तथा वित्तीय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
