पर्वत ।
मोदी गाँउपालिकामा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ वैशाख २७ मोदी गाउँपालिकाले पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । सबै वडालाई पूर्ण खोप प्रमाणीकरण गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीले बताउनुभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले बालबालिकालाई खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको गाँउपालिकाले जनाएको छ । मोदीका ०-१५ महिनासम्मका २८७ जना बालबालिका र १६-५९सम्मका ७९१ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेका छन ।
वडाहरुलाई पूर्ण खोपको स्थिति कायम गरेकोमा वडाका स्वास्थ्य चौकी प्रमुखहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको हो । उपाध्यक्ष विमल लामिछानेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक उमेश अधिकारीले गर्नुभएको थियो भने स्वागत जनस्वास्थ्य कार्यालय पर्वतका खोप अधिकृत जयन्द्रमान गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुखहरु, शिक्षक प्रतिनिधि, आमा समूह प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाज्यूहरु लगायत मोदी गाउँपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्यहरुको सहभागितामा रहेको थियो ।
