यति एअर लाइन्सको जहाज दुर्घटना अपडेट , जहाजमा रहेका ट्रमा सेन्टरका चिकित्सक श्रेष्ठ दम्पती, पत्रकार नेता पौडेल र कलाकार छन्त्यालकाे अवस्था अझै अज्ञात

पोखरा ।

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ।

उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन आएका थिए।

डा श्रेष्ठको श्रीमती पनि अर्थोपेडिकको डाक्टर भए पनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइन्। न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् ।

त्यसै गरी पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा एक जना पत्रकार समेत परेका छन् । दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् ।

दुई दशकदेखि पत्रकारितामा संलग्न पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत हुन् । उनको अवस्था अझै अज्ञात छ ।

त्यसै गरी माघी मनाउन पोखरा आएकी लोकगायिका सोही  विमान दुर्घटनामा परेकी छन् । गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्। ‘‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी थिइन्। उनले आज बिहान फेसबुकमार्फत माघे सङ्क्रान्तिको शुभकामना समेत व्यक्त गरेकी थिइन् ।

उनीहरू लगायत दुर्घटनामा परेका यात्रुहरुको उद्दारका लागि प्रयास भई रहेको छ ।

“तीन जना घाइतेको जीवितै उद्धार भएको छ” प्रशासन

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, ‘उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *