मोदी पर्वत ।
मोदी गाउँपालिका वडा नं २ देउपुरस्थित जननेत्र माध्यमिक विद्यालयमा नवनिर्मित दुईवटा पक्की भवनको आइतबार एक भब्य कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुई ओटा चार कोठे भबनहरुको समुद्घाटन गर्नु भएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष तिमिल्सिनाले बिद्यार्थीहरुलाई बालमैत्री वातावरणमा सुरक्षित तरिकाले पढ्न सहज होस् भन्ने उद्धेश्यले पक्की बिद्यालय भवन जस्ता पूर्वाधारहरुको निर्माणमा आफूले जोड दिएको बताउनु भयो । जस्तो सुकै प्राकृतिक प्रकोपमा पनि बालबालिकाहरुले ढुक्क भएर बिद्यालयमा अध्ययन गर्न पाउने अबस्थाको सिर्जना भएको बताउँदै गुणस्तरीय पूर्वाधारसँगै गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका माननीय सभामुख सरोज कुमार यादवले पूर्वाधार निर्माण र प्रविधिको बिस्तारमा विद्यालयले गरेको अभ्यासको प्रशंशा गर्नुभयो । गण्डकी प्रदेशका माननीय सांसद ललितकला गुरुङले आफूले पढेको बिद्यालयले पछिल्ला दिनहरुमा गरेको भौतिक प्रगतिप्रति खुशी व्यक्त गर्दै प्रदेशको तर्फबाट आफूले सक्दो सहयोग गनेृ प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल स्थित कार्यालय प्रमुख डा. राजेश संभाजीराव पाण्डव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्याम सुन्दर यादब, गाउँ पालिका अध्यक्ष प्रेम शर्मा पौडेल, विश्व स्वास्थ्य संगठन खोप कार्यक्रम प्रमुख डा. बिनोद पुरा , संचार अधिकृत कृष्णमणी बराल, प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री, प्रहरी नायब उपरिक्षक शिबराज बुढाथाकी, अन्तराष्ट्रिय बैक, बीमा, बित्तीय क्षेत्र कर्मचारी युनियन सचिब ताराखर अधिकारी, स्वकीय सचिब मान बहादुर खड्का, नीजि सचिब शुशिला आचार्य , गाउँ शिक्षा अधिकृत झक प्रसाद गौतम, नेकपा एमाले प्रदेश कमिटी सदस्य भक्त कुँवर, हिरादेबी शर्मा, बिभिन्न बिद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, कर्मचारीहरु, जनप्रतिनिधिहरु, पत्रकारहरू, शिक्षक, अभिभावक, बिद्यार्थीहरु लगायतको ठूलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा कार्यालयले आयोजना गरेका आधारभूत तह स्तरीय अतिरिक्त क्रियाकलापहरुमा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । वडा भित्रका बिद्यालयमा अध्ययनरत अभिभावकबिहीन २० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण समेत गरिएको थियो भने अन्य सबै बिद्यार्थीहरुलाई पुग्ने गरी दुइ लाख पचास हजार रुपैयाँ बराबरको कापी बितरण गरिएको थियो ।
सो कार्यक्रममा बिद्यालय भवन निर्माणमा उल्लेखनीय सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा प्रशंशापत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत बिद्यालयका प्रअ दिपक शर्माले गर्नुभएको थियो भने संचालन सहायक प्रअ भूमिराज शर्माले गर्नु भएको थियो ।
२०१४ सालमा स्थापित मोदी गाउँपालिकाको अग्रणी शैक्षिक संंस्थाको रुपमा रहेको बिद्यालयले पछिल्ला बर्षहरुमा प्रविधिको क्षेत्रमा उल्लेखनीय अभ्यास गर्दै आइ रहेको छ । बिद्यालयमा सुबिधा सम्पन्न कम्प्युटर ल्याब, व्यवस्थित बिद्युतीय पुस्तकालयहरु, बुक कर्नरहरु रहेका छन् । बिद्यालयका सबै कक्षा कोठाहरुमा उच्च गतिको इन्टरनेट सहितका स्मार्ट टिभीहरु जडान गरिएका छन् भने सबै कक्षा कोठा र बिद्यालय परिसरमा सीसी क्यामेराहरु जडान गरी शिक्षामा सूचना संचार र प्रविधिको प्रयोग गर्ने गरिएको छ । कक्षा १२ सम्म संचालित बिद्यालयमा हाल २१ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् भने ३५० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।










