पर्वत ।
बालबालिकाहरुमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सहयोग गर्ने उद्धेश्यले कुश्मामा वक्तृत्वकला, चित्रकला, कविता र सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न गरिएको छ । कुश्मा नगरपालिका वडा नं. ७ मा रहेको कृष्णागण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजना र स्थानीय प्रगति संस्कार बालक्लबको सहकार्यमा यी प्रतियोगिताहरु सम्पन्न भएका हुन् । प्रतियोगितामा वक्तृत्वकलातर्फ शिवालय माविका शिवानी शर्मा प्रथम, शिवालय माविकै सृष्टि नेपाली द्वितीय, नारायण माविका प्राप्ती शर्मा तृतीय र कालीगण्डकी एकेडेमीका एलिश गौतमले सान्तवना स्थान प्राप्त गरेका छन् । यसैगरी सिर्जनात्मक लेखन प्रतियोगितामा शिवालय माविका सृष्टि नेपालीले प्रथम, शिवालयकै सृष्टि पौडेल द्वितीय, शिवालय माविका गायत्री पौडेल तृतीय र आदर्श आवासीय माविका स्वर्णीमा श्रेष्ठले सान्तवना स्थान प्राप्त गरेको छन् । कविता प्रतियोगितातर्फ कालीगण्डकी एकेडेमीका जेनिशा शर्मा प्रथम, कालीगण्डकी एकेडेमीकै अनुस्का पौडेल द्वितीय, नमुना आवासीय माविका आदित्य पौडेल तृतीय र शिवालय माविका कृशा पौडेलले सान्तवना स्थान प्राप्त गरेका थिए भने चित्रकला प्रतियोगितामा कालीगण्डकी एकेडेमीका युगन पौडेल प्रथम, सहिदस्मारक आवासीय माविका बरुण गुरुङ द्वितीय, गुरुकुल एकेडेमीका अश्विन भुषाल तृतीय र नमुना आवासीय माविका रौनक आचार्यले सान्तवना स्थान प्राप्त गरेका थिए । पुरस्कृत विद्यार्थीहरुलाई कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै उपप्रमुख रिजालले बालबालिकाको सर्वतोमुखी विकासमा सहयोग पुर्याउने हेतुले कृष्णागण्डकी सामुदायिक सिकाइ केन्द्रले यस प्रकृतिको कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै बालबालिकाहरु पनि आफ्नो नियमित पठनपाठनका साथै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी भैरहनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जननी र जन्मभूमीको हित चिताएर अघि बढ्न विद्यार्थी बालबालिकालाई आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष इश्वर गिरीले विद्यार्थी बालबालिकाहरुलाई अनुशासित भई शिक्षा लिने र क्लबमा आबद्ध भएर आफूले सिकेका ज्ञान र सीपलाई व्यवहारिक जीवनमा पनि लागू गर्नुपर्ने कुरामा जोड दिनुभयो । कुश्मा नगरपालिका शिक्षा अधिकृत दीपक सुवेदीले कृष्णागण्डकी सामुदायिक सिकाइ केन्द्रले आफ्नो स्थापना कालदेखि नै विविध रचनात्मक र सिर्जनात्मक काम गर्दै आइरहेको र अहिले पनि बालबालिकालाई प्राथमिकतामा राखेर एकै पटक चार–चारवटा प्रतियोगिता सञ्चालन गरी बालबालिकालाई उत्प्रेरित गरेकोमा खुशी व्यक्त गर्नुभयो । प्रतियोगितामा कुश्मा नगरपालिका शिक्षा अधिकृत दीपक सुवेदी, शिक्षाविद् पृथ्वीनारायण शर्मा र एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय प्रगति संस्कार बालक्लबका उत्प्रेरक तथा संरक्षक एवम् कालीगण्डकी एकेडेमी कुश्माका शिक्षिका रश्मी गौतमलाई उहाँले क्लबको गठन, परिचालन, सम्बद्र्धन तथा प्रवद्र्धनमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै कृष्णागण्डकी सामुदायिक सिकाइ केन्द्रको तर्फबाट दोसल्ला, फूलमाला तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अथिति स्वस्थानी रिजाल र शिक्षाविद् पृथ्वीनारायण शर्माले आफ्ना कवितात्मक सिर्जनाहरु पनि प्रस्तुत गर्नुभएको थियो । कृष्णागण्डकी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष एकनारायण चालिसेको अध्यक्षतामा श्री शिवालय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमको स्वागत मन्तब्य केन्द्रका सचिव सिर्जना आचार्य र सञ्चालन गंगा कुमारी शर्माले गर्नुभएको थियो ।