वर्षाले पर्वतको २२ प्रतिशत धान नष्ट

पर्वत : असाेज महिनाकाे अन्तिम साताबाट शुरु भएकाे  अविरल वर्षाका कारण पर्वतमा पाकीसकेकाे धान बालीमा क्षति पुगेकाे छ । कृषि ज्ञान केन्द्र  पर्वतका अनुसार करिब २५ प्रतिशत धान खेतीमा क्षति भएको अनुमान गरिएको छ। केन्द्र  प्रमुख मनिता थापाका अनुसार जिल्लामा कुल ८ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ सय ७८ हेक्टर क्षेत्रफलको धान भने किसानले भित्र्याइसकेका छन्। झरी, वर्षा र हावाहुरीका कारण ४ सय ९० हेक्टर क्षेत्रफलको धान पूर्ण नोक्सान भएको भएको छ भने ६ हजार ७ सय ७२ हेक्टर क्षेत्रफलको धान खेती ठाडो अवस्थामा रहेको छ।

कार्यालय प्रमुख थापाका अनुसार देशभरिको उत्पादन हेर्दा प्रति हेक्टरमा ३ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ भने पर्वतमा त्योभन्दा धेरै ३ दशमलव ५ मेट्रिक टन रहेको छ। यसअनुसार जिल्लामा वर्षमा करिब २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यो तथ्याङ्कलाई अहिलेको २२ प्रतिशत क्षतिसँग दाँजेर करिब ६ हजार १ सय मेट्रिक टनभन्दा बढी धानमा वर्षाले प्रत्यक्ष असर गरेको छ।

त्यसमा पनि यसको २५ प्रतिशत अर्थात् करिब १५ सय मेट्रिक टन धान काम नै नलाग्ने गरी नष्ट भएको छ। क्षतिग्रस्त अवस्थामा रहेको २२ प्रतिशतमध्ये करिब ७५ प्रतिशत धान उठाएर ठाडो पार्ने, एक ठाउँबाट अन्यत्रै सुख्खा ठाउँमा सार्ने, खेतको भल तर्काउने, तप्क्यानी हटाउनेलगायत काम गर्ने हो भने केही मात्रामा उत्पादन लिन सकिने थापाको भनाई छ। थन्क्याउने बेलाकाे मुख्य खेति धान  नाेक्सान भए पछि कृषकहरु निकै चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *