काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,’ दाहालका सहयोगी रमेश मल्लले भने ।स्रोतका अनुसार सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन सकारात्मक छन् । अध्यक्ष नेपाललाई पनि पार्टी भित्रैबाट सरकारमा सहभागी हुनका लागि दबाब आइरहेको छ ।अध्यक्ष नेपालले भने सरकारको नीति तथा कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वा नहुने निर्णय गर्ने बताएका छन् । यसबारे निर्णय गर्न उनको पार्टीले यसअघि नै पार्टी सचिवालयलाई जिम्मा दिइसकेको छ ।प्रधानमन्त्री दाहालको सरकारलाई हाल संसदमा रहेका सातवटा पार्टीले समर्थन गरेका छन् भने सरकारले संसद्मा विश्वासको मत लिन भने बाँकी छ ।प्रधानमन्त्री दाहाललले यही पुस २६ गते संसद्मा विश्वासको मत लिने कार्यतालिका छ । त्यसअघि नै प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन लागिपरेका छन् ।