बागलुङ
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ । अहिले पालिकाबाटै तलब भत्ता खाएकाले शिक्षकले केही थाहा पाएका छैनन्, तर जब ग्रेड, सरुवा भएको रेकर्ड र स्थायी फाइल खोज्नुपर्छ त्यतिबेला पालिकाम केही भेटिँदैन’ एकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, “देशभर नभएको जात्रा बागलुङमा भएको छ ।” बागलुङ नगरपालिकाले त सामान्य बोधार्थसमेत नदिएर शिक्षकको लागत गोप्य राखेको उनले बताए ।
जिल्ला समन्वय समितिमा भएको वार्षिक समीक्षामा उनले उक्त गुनासो राखेका थिए । जिल्लामा अहिले पनि कति शिक्षक दरबन्दी आवश्यक छ, कति जना कुन पालिकामा पठाउने भनेर खोजी भइरहेको उनले जानकारी दिए । “हामीले खोजी गरेर शिक्षा मन्त्रालयमा माग गरिरहेका छौँ, तर पालिकाले नियुक्त गरेको भए कतै पनि रेकर्ड देखिँदैन”, उनले भने, “शिक्षा मन्त्रालयमा दरबन्दी विवरण पठाउने जिल्लाको एकमात्रै आधिकारिक संस्था एकाइ हो ।”
नयाँ नियुक्त भएका र सरुवा भएका शिक्षकको फाइल भिडाउने, कागजात संरक्षण गर्ने काम नभएकोले पछि उनीहरुले दुःख पाउने उनले बताए । शिक्षा मन्त्रालयले एकाइलाई नै अधिकार दिएको उनको भनाइ छ । झट्ट हेर्दा शिक्षा विकास तथा समन्वय एकाइमा कामै छैन । त्यसैले धेरै दरबन्दी पनि कटौती भएका छन् । सबै पालिका तहमा शिक्षा शाखा स्थापना पनि भएको छ । त्यसैले एकाइको काम छैन भनेर टिप्पणी गर्ने धेरै छन् तर उक्त टिप्पणी जिल्लाकै लागि घातक हुने एकाइ प्रमुख उपाध्यायको टिप्पणी छ ।
रासस