पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं ५, बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
सो विद्यालयले जिल्लामा नै पहिलो पटक प्रदेश स्तरको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेर विद्यार्थीहरूको क्षमता पहिचान गर्न लागेको हो । विद्यालयका प्रधानाध्यापक अजय लामिछानेका अनुसार ‘प्रथम सरस्वती गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता’ यही फागुनको १३ गते हुने भएको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थानमा आउने विद्यालयले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । जिल्लाभित्रका विद्यालयबाट सहभागी हुने समूहहरूले दर्ता शुल्कको रूपमा १५ सय रुपैयाँ तिर्नुपर्ने तर जिल्ला बाहिरका विद्यालयहरूको लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । एउटा विद्यालयबाट दुई वटा समूह सहभागी हुन पाउने र एक समूहमा चार जना विद्यार्थीहरू रहन पाउने छन् ।
प्रतियोगितामा समसामयिक, खेलकुद, भूगोल, इतिहास, धर्म संस्कृति, साहित्य, मनोरञ्जन, बौद्धिक परीक्षण र विज्ञान तथा प्रविधिको विधाबाट प्रश्नपत्रहरु सोधिने छन् । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म सञ्चालित सामुदायिक तथा निजी विद्यालय वा क्याम्पसका विद्यार्थीहरू पनि सहभागी हुन पाउने छन् ।