सवारी लाइसेन्सका लागि तीन हजार परीक्षार्थी

बागलुङ

कोरोनाको दोस्रो लहर अघि धौलागिरि यातायात व्यवस्था कार्यालयमा दुई पाङ्गे्र सवारी चालक अनुमतिपत्रका लागि तीन हजार ५०० जनाको आवेदन परेको थियो । जारी निषेधाज्ञाका कारण आवेदन स्वीकृत भएर रोकिएका आवेदकको परीक्षा बल्ल सञ्चालन गर्न थालिएको छ ।

कार्यालयलाई आवेदनको परीक्षा लिन अहिले हम्महम्मे परिरहेको छ । कोरोनाका कारण लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिन नसक्दा अनलाइनमार्फत स्वीकृत भएका आवेदन, कार्यालयमा सम्पर्क गर्न नआएका, डिजिटल फोटो खिच्न नपाएका र लिखित परीक्षा पास भएर ट्रायल परीक्षा दिन नपाएका तीन हजार ५०० परीक्षार्थी रहेको कार्यालयका सवारी चालक अनुमतिपत्र शाखाका प्रमुख श्यामकुमार थापाले बताए ।

“कोरोनाको दोस्रो लहरपछि ठप्प रहेको सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्न थालेका छौंँ, अहिले नयाँ आवदेक र कोरोना अघिका तीन हजार बढी आवेदकलाई लिखित तथा ट्रायल पास गराउनका लागि कार्यालयलाई सकस भएको छ” उनले भने, “योजना बनाएर पुराना आवेदकलाई छिट्टै परीक्षामा समावेश गराउने तयारी भएको छ ।”

यातयात व्यवस्था कार्यालयमा कोरोनापछि असोज १५ गते मात्रै २२० जनाले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा दिएका थिए । धौलागिरि यातयात व्यवस्था कार्यालयले दुई पाङ्ग्रेसवारी चालक अनुमतिपत्रको परीक्षा पास गर्नासाथ परीक्षणकालीन लाइसेन्स प्रमाणपत्र दिनसमेत थालेको छ ।

यसरी रसिद काट्नासाथ क्यूआर कोड जडित अस्थायी लाइसेन्स वितरण गरिने कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिए । उनले वैशाख १७ गतेदेखि बाँकी रहेका तीन हजार ५०० परीक्षार्थीलाई दसैँलगत्तै नियमित परीक्षामा सहभागी गराइने र यस अवधिमा नयाँ आवेदनलाई समेत समावेश गरिने जानकारी दिए ।

“कार्यालयले व्यवस्थापन गर्दैछ, पुराना र नयाँलाई कोटा निर्धारण गरेर भए पनि आवेदन दिएका सबैलाई प्रक्रियामा ल्याउछौंँ” कार्यालय प्रमुख थापाले भने, “चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षाका लागिसमेत जग्गाको खोजी भइरहेकोे छ, सरकारी जग्गा नपाए मापदण्डअनुसारको निजी ट्रायल सेन्टरबाट चार पाङ्ग्रे सवारीचालक अनुमतिपत्रको परीक्षा लिने गरी अगाडि बढेका छौं ।”

कानूनमै व्यवस्था भएको एकवर्षे परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको कार्यालयले एक वर्षपछि उक्त लाइसेन्स खारेज नभए पाँच वर्षे स्मार्ट लाइसेन्स उपलव्ध गराउनेछ ।

रासस/खेमराज गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *