सुनको भाउ हालसम्मकै उच्च, प्रति तोला एक लाख १३ हजार छ सय रुपैया पुग्यो

काठमाडौँ ।

सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएकाे महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *