स्थानीय निर्वाचन २०७९ मा पर्वतका सबै पालिकाहरूको अन्तिम नतिजा

कुश्मा नगरपालिका

पर्वतको कुश्मा नगरपालिकाको नगर प्रमुखमा गठबन्धन दलको तर्फदेखि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशी विजयी भएका छन् । जोशीले नेकपा एमालेका गणेश शर्मा पौडेललाई ७ सय ९८ मतान्तरले जितेका हुन् । निर्वाचित जोशीले ९ हजार ८ सय ४९ मत ल्याउँदा शर्माले ९ हजार ५१ मत ल्याएका छन् । निर्वाचित जोशी कुश्मा नगरपालिकाको संस्थापक मेयर समेत हुन् । उनको यो दोस्रो कार्यकाल हो । उपप्रमुखमा भने नेकपा एमालेकी स्वस्थानी रिजालले बाजी मारेकी छिन् । गठबन्धन दलबाट उपप्रमुखमा उठेका माओवादी नेता शङ्कर गिरी ८ सय १० मतले पछि परेका हुन् । निर्वाचित रिजालले ९ हजार ९२ मत ल्याउँदा गिरीले ८ हजार २ सय ८२ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा पनि यस नगरपालिका काँग्रेसले नै नेतृत्व गरेको थियो ।

 

फलेवास नगरपालिका–

पर्वतको अर्को नगरपालिका फलेवास नगरपालिकामा पनि नेपाली काँग्रेसका गंगाधर तिवारी नगरप्रमुखमा विजयी बनेका छन् । गठबन्धन दलबाट उठेका तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् । निर्वाचित तिवारीले ७ हजार ७ सय मत ल्याउँदा संस्थापक नगरप्रमुख समेत रहेका शर्माले चाहिँ ६ हजार ३ सय ३८ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा पनि तिवारी र शर्माबिच प्रतिस्पर्धा रहेको थियो । त्यो बेला भने एमालेका शर्मा नगर प्रमुख बन्न सफल भएका थिए । त्यसतै उपप्रमुखमा पनि गठबन्धन दलबाट उठेकी माओवादी नेतृ शोभा क्षेत्री विजयी बनेकी छिन् । उनले आफ्नी प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु अधिकारीलाई हराएकी हुन् । अधिकारी फलेवास नगरपालिकाकी संस्थापक उपमेयर हुन् । निर्वाचित क्षेत्रीले ६ हजार ३ सय २७ मत ल्याइन् भने अधिकारीले ६ हजार ५७ मत ल्याएकी छन् ।

 

पैयुँ गाउँपालिका–

पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष पद जित्न सफल भएको छ । हिजो दिउँसो आएको नतिजा अनुसार पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका तोरण मल्ल ठकुरी विजयी बनेका हुन् । उनले नेकपा एमालेका महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् । निर्वाचित ठकुरीले ३ हजार ८ सय २४ मत ल्याउँदा प्रतिस्पर्धी श्रेष्ठले चाहिँ ३ हजार ३ सय ७८ मत ल्याएका छन् । त्यसतै उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाले जितेका छिन् । उनले काँग्रेसकी जानकी प्रधानलाई पराजित गरेकी हुन् । विजयी रानाले ३ हजार ७ सय ७७ मत ल्याउँदा प्रधानले चाहिँ ३ हजार ४ सय ५८ मत ल्याएकी छिन् । २०७४ को स्थानीय चुनावमा यस गाउँपालिका काँग्रेसले जितेको थियो ।

बिहादी गाउँपालिका–

पर्वतको बिहादी गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । गठबन्धन दलबाट उम्मेदवार बनेका प्रविन गुरुङ अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका ओम कुँवरलाई पराजित गरेका हुन् । गुरुङले ३ हजार ४ सय ६९ मत ल्याउँदा कुँवरले चाहिँ २ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार मिना कुमारी शर्मा तिवारीले ३ हजार २ सय २७ मत पाएर विजयी बनेकी छिन् । उनका प्रतिस्पर्धी माओवादीका सन्त बहादुर गुरुङले ३ हजार ५० मत पाएका छन् । २०७४ को स्थानीय तहको चुनावमा भने यस पालिकाको नेतृत्व नेकपा एमालेले गरेको थियो

जलजला गाउँपालिका–

पर्वतको जलजला गाउँपालिकामा गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्षमा विजयी बनेका छन् । उनले नेकपा एमालेका लाल बहादुर अधिकारीलाई हराएका हुन् । निर्वाचित आचार्यले ५ हजार ६ सय ५७ मत ल्याउँदा प्रतिस्पर्धी अधिकारीले ४ हजार १ सय ८४ मत ल्याएका छन् । त्यसतै उपाध्यक्षमा पनि गठबन्धन दलकै माओवादी उम्मेदवार दीपक आचार्यले नेकपा एमालेकी सुनिता बरुवाललाई पराजित गरेका छन् । उनले ४ हजार ७ सय ९२ मत ल्याउँदा बरुवालले ४ हजार ७ सय १५ मत ल्याएकी छन् ।

महाशिला गाउँपालिका–

पर्वतको महाशिला गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । पालिका अध्यक्षमा नेकपा एमालेका ईश्वरी प्रसाद भुसाल र उपाध्यक्षमा एमालेकी मनसुवा विक विजयी भएकी छिन् । काँग्रेसका अशोक उचै ठकुरीलाई निर्वाचित भुसालले ४ सय ४७ मतान्तरले जितेका छन् । उनले २ हजार ७ सय ५३ मत ल्याउँदा काँग्रेसका ठकुरीले २ हजार ३ सय ६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनतर्फका समाजवादी उम्मेदवारी बिराज हमालले १ हजार ९ सय ६९ मत ल्याउँदा एमालेकी विकले २ हजार ७ सय ६ मत ल्याएर विजयी भएकी हुन् ।

 

मोदी गाउँपालिका–

पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी बनेका छन् । अध्यक्षमा हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेले जित हात पारेका हुन् । गठबन्धन दलका माओवादी उम्मेदवार गुप्त बहादुर हमाललाई एक हजार ३ सय ३९ मतले हराउँदै शर्माले जित सुनिश्चित गरेकी हुन् । शर्माले ६ हजार १९ मत ल्याएकी छिन् भने हमालले ४ हजार ६ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनकै नेपाली काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईँलाई पराजय गर्दै लामिछाने पालिकाको उपाध्यक्ष बन्न सफल भएका छन् । लामिछानेले ६ हजार ३ सय ३ मत ल्याउँदा प्रसाईँले ४ हजार ६ सय ५४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *