माेदी , पर्वत ।
निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र ६७६ निर्वाचन अधिकृतहरूका लागि सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन स्वतन्त्र ढङ्गले पर्यवेक्षण गराउन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति दिने निर्णय पनि गरेको आयोगले जनाएको छ ।
सो संस्थाबाट तोकिएको योग्यता पुगेका १० हजारभन्दा बढी स्वतन्त्र पर्यवेक्षकहरूले मुलुकभरीका तोकिएको मतदानस्थलमा पुगी पर्यवेक्षण गर्नेछन् । आफ्नो मतदाता नामावली रहेको सम्बन्धित स्थानीय तहमा भने पर्यवेक्षकहरूले पर्यवेक्षण गर्न पाउने छैनन् । पर्यवेक्षकलाई आयोगले पर्यवेक्षण गर्ने मतदान स्थलसमेत खुलाई छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउने छ । पर्यवेक्षकहरूले निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउनुपर्ने छ ।
निर्वाचन आचारसंहिता, २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रिवितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि सामग्री उत्पादन नगर्न नगराउन आयोगले विज्ञप्तिमार्फत अनुरोध गरेकाे छ ।