८१ किमि लामो बिरेठाँटी–मुुक्तिनाथ केबलकार’को डिपिआर लगानी बोर्डमा

पर्वत ।

८१ किलोमिटर लामो मुक्तिनाथ केबलकार आयोजनाको १६ र १७ वैशाखमा हुन लागेको लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता गर्ने तयारी गरिएको छ । वैशाख दोस्रो साताभित्र सरकारले इआइए स्वीकृत र लगानी बोर्डले परियोजना लगानी सम्झौता (पिआइए) गरेमा लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता गर्ने योजना मुक्तिनाथ दर्शन प्रालिको छ । कम्पनीले गत साता आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) र अद्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगानी बोर्डमा पेस गरेको छ । ‘परियोजना बनाउन कम्पनी तयार भइसकेको छ । अब सरकारले कानुनी प्रक्रिया पूरा गरिदिनुपर्छ,’ कम्पनी सचिव सुमित्रा पाण्डेले भनिन्, ‘सरकारले कानुनी प्रक्रिया पूरा गरिदिएमा लगानी सम्मेलनमा सेयर तथा ऋण लगानी सम्झौता हुन्छ ।’

परियोजनाको लागत अनुमान ५५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । त्यसको ८० प्रतिशत अर्थात् ४४ अर्ब १४ करोड रुपैयाँ लगानी ऋणमार्फत जुटाइँदै छ । भारतको के एन्ड आर इन्जिनियरिङ कम्पनीले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडेलमा यस आयोजनामा ऋण लगानी गर्ने समझदारी भइसकेको छ । यसैगरी, २० प्रतिशत अर्थात् ११ अर्ब चार करोड भने कम्पनीले सेयर (स्वपुँजी)का रूपमा लगानी गर्नेछ । त्यसमध्ये आयोजना प्रभावित बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई ३५ प्रतिशत अनुपातमा आइपिओ निष्कासन गरिनेछ । बाँकी ५५ प्रतिशत सेयर भने संस्थागत हुनेछ, त्यसमा २७.५ प्रतिशत सिंगापुरको कम्पनीले लिँदै छ । २७.५ प्रतिशत संस्थापक सेयर मुक्तिनाथ दर्शन प्रालिको हुनेछ । के एन्ड आर कम्पनीले ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने समझदारी छ । आगामी लगानी सम्मेलनमा विदेशी पार्टनरको नाम खुलाउने तयारी छ ।

जिडिपीमा वार्षिक ७० अर्ब योगदान, दुई हजार रोजगारी

परियोजना बनेपछि नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ७० अर्बको योगदान पुग्ने कम्पनीको दाबी छ । चालू मूल्यका आधारमा सोबराबरको योगदान जिडिपीमा हुने प्रक्षेपण डिपिआरमा गरिएको छ । परियोजनाका कारण सिर्जना हुने आर्थिक अवसर (होटेल, रोजगारी, स्थानीय उत्पादन र बजारलगायत)का आधारमा यस्तो प्रक्षेपण गरिएको कम्पनीको भनाइ छ । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा भएमा सरकारलाई भ्याट मात्रै वार्षिक आठ अर्ब रुपैयाँसम्म प्राप्त हुनेछ । पर्यटक न्यूनतम दुई दिन बस्ने, न्यूनतम १५ सयबराबरको रुम लिने, न्यूनतम पाँच सयको खाना खाने, त्यसका आधारमा स्थानीय उत्पादन तथा सेवाको खपत बढ्नेलगायतका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

परियोजनाको निर्माण अवधि (चार वर्ष)मा दुई हजार रोजगारी सिर्जना हुनेछ । सञ्चालन अवधिमा भने न्यूनतम ६ सय हाराहारीमा रोजगारी सिर्जना हुने कम्पनीको भनाइ छ । परियोजनाको ‘पे ब्याक पिरियड’ सात वर्ष रहेको छ । यद्यपि, १० वर्षमा ऋण चुुक्ता गर्ने योजना कम्पनीले बनाएको छ । आयोजनाको इन्टरनल रेट अफ रिटर्न १५ प्रतिशत र लगानी प्रतिफल २० प्रतिशत हाराहारी हुने सूचकले परियोजना आर्थिक रूपमा सम्भाव्य देखाएको कम्पनी सचिव पाण्डेले बताइन् । आधा क्षमतामा सञ्चालन हुँदा पनि परियोजनाले वार्षिक १७ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने उनको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न ठूलो संख्यामा नेपाल र भारतलगायतका हिन्दू धर्मावलम्बी जाने गर्छन् । यसैगरी त्यहाँका हिमालयन दृश्यलगायतको अवलोकन गर्न ठूलो संख्यामा पर्यटक जाने गर्छन् । तर, त्यहाँ पुग्न सुविधाजनक सडक छैन । यस्तो अवस्थामा केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ

सुरुवाती विन्दु बिरेठाँटीको एक हजार मिटर र अन्तिम विन्दु मुक्तिनाथको ३७ सय मिटर अल्टिच्युट रहेको छ । अल्टिच्युट परिवर्तन हुँदा यात्रुमा पर्न सक्ने स्वास्थ्य जोखिम (लेक लाग्ने)लाई दृष्टिगत गर्दै स्टेसनहरूमा स्वास्थ्य चेकजाँचको सुविधासमेत हुनेछ । यात्रुहरूले विभिन्न स्टेसनमा झरेर घुमफिर गरी पुनः केबलकारमा सवार गर्न सक्नेछन् । यसले गर्दा पनि लेक लाग्ने जोखिम कम हुने अनुमान छ । कागबेनी पुगेपछि यात्रुलाई निःशुल्क अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराइनेछ । कागबेनीमा विशेष रूपमै यात्रुको स्वास्थ्य चेकजाँच गरिनेछ । प्रत्येक स्टेसनमा रेस्टुरेन्ट, कफी सप, होटेल तथा लजको सुविधा हुनेछ ।

डिपिआर भने आफैँ अध्ययन गरेर स्वीकृत गर्नेछ । इआइए र डिपिआर स्वीकृत भएपछि बोर्डले कम्पनीसँग परियोजना विकास सम्बन्धमा थप सम्झौता गर्नेछ । त्यसपछि परियोजना निर्माणको काम अघि बढ्नेछ ।

कति लाग्छ शुल्क ?

केबलकारमा नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई फरक–फरक भाडादर तोकिएको छ । नेपालीलाई ६ हजार, सार्क राष्ट्रका नागरिकलाई ६ हजार भारु र अन्य देशका नागरिकलाई दुई सय डलर दोहोरो भाडा तोकिएको छ । टिकटको अवधि एक हप्ताको हुनेछ । यात्रुहरू बीच–बीचमा बसोवास (स्टे) गरेरसमेत यो सुविधा प्रयोग गर्न सक्नेछन् । साथै, आवश्यकताअनुसार ‘वान वे’ र एक स्टेसनदेखि अर्काे स्टेसनसम्मको छुट्टाछुट्टै टिकट लिएर पनि यात्रा गर्न सकिनेछ

।(पाथीभरा)मा केबलकार परियोजना निर्माण अघि बढेको छ । यसैगरी, विभिन्न ठाउँमा केबलकार परियोजना बनाउने गरी पर्यटन बोर्डमा निजी क्षेत्रबाट दुई दर्जनभन्दा बढी आवेदन परेका छन् ।

(नयाँ पत्रिका बाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *