विद्यालय कर्मचारीहरुको आन्दोलन नयाँ चरणमा : आइतबारदेखि काठमाडौंमा केन्द्रित हुने

पर्वत ।

नेपाल विद्यालय कर्मचारी परिषदले आईतबार देखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने भएको छ । परिषदले एक साता देखि विद्यालयमा लेखापाल र विद्यालय सहयोगीको दरबन्दी स्थापनाको माग गर्दै देशभरका  शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयहरुमा  साता दिनदेखि धर्ना दिई रहेको थियो ।

आफ्ना मागहरु सुनुवाई नभए पछि देशभर रहेका ३५ हजार ६८ जना विद्यालय कर्मचारीहरु केन्द्रीकृत आन्दोलनका लागि राजधानी छिरेका हुन ।

आन्दोलनका कार्यक्रमअन्तर्गत नै परिषद्ले आइतबार काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रम आयोजना गरेको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने,‘सरकारलाई दबाब दिनका लागि हामीले आइतबार (२८ जेठ) थाल ठटाउने कार्यक्रमको आयोजना गरेका छौं । नयाँ बानेश्वरदेखि थाल ठटाउँदै माइतीघर मण्डलामा पुगेर कोण सभा गर्नेछौं ।’

अध्यक्ष तिवारीले कोण सभालाई सम्बोधनका लागि विभिन्न पार्टीका नेताहरूलाई पनि आमन्त्रण गरिएको जानकारी दिए ।

संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायत विषयलाई सम्बोधन गरिने भनिएको थियो । तर बजेटमा उक्त नीतिको कुनै संबोधन नभएको र जिल्ला केन्द्रित आन्दोलनको सुनुवाइ नभएको हुँदा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भइरहेको परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *