काठमाण्डौ आसपास भीषण वर्षा ; नदी किनारका बस्तीहरु डुबानमा

काठमाण्डौ ।

आज बुधबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको थियो । अहिले पनि  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसका कारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् ।

बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *