अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशत महँगियो, २०२२ फेब्रुअरीदेखि संचालनमा ल्याउने तयारी

कास्की ।

अन्नपूर्ण केबलकारको लागत ७ प्रतिशतले बढेको छ। कास्कीको सराङकोटमा निर्माणाधीन केबलकार परियोजनाको अनुमानित लागत एक अर्ब ७८ करोड रुपैयाँ रहेकोमा बढेर एक अर्ब ९० करोड रुपैयाँमा पुगेको हो।

कम्पनीले परियोजनाका लागि थप जग्गा, प्लान्ट र मेसिनरी खरिद गरेकाले लागत महँगिएको छ। सन् २०२१ को अप्रिलबाटै संचालन गर्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण निर्माण अवधि २०२२ फेब्रुअरी पुगेको छ। निर्माण अवधि धकेलिएकाले पनि परियोजनाको लागत बढेको रेटिङ एजेन्सी केयर रेटिङ्सले जनाएको छ।

कम्पनीले परियोजना थाल्दा यसको लागत ८९ करोड ५० लाख रुपैयाँ हाराहारी थियो। केबलकार जडान, तार टाङ्ने कामदेखि परीक्षण संचालन भइसकेको यो परियोजना कोरोना महामारीका कारण पूर्ण हुन पाएको थिएन। २.३ किलोमिटर लामो केबलकार परियोजनामा १८ वटा गोन्डोला रहने छन्।

जापानबाट प्राविधिकहरु झिकाएर परीक्षण गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण हवाई उडान संचालन नहुँदा काम रोकिएको थियो। अन्नपूर्ण केबलकारलाई आवश्यक उपकरण तथा प्राविधिक सहायता जापानी कम्पनी निप्पोन केबलले गर्दै आएको छ।

अन्नपूर्ण केबलकार प्रालिमा घरजग्गा व्यवसायी कालु गुरुङको मुख्य लगानी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *