पोखरामा पौने १९ लाखसहित ६ जुवाडे समातिए, प्रहरी छल्न सिसी क्यामेरा

पोखरा ।
सहर बजारका धेरै चोकतिर अचेल सिसी क्यामेरा छन् । कसैले बदमासी गरे वा दुर्घटना गराइहाले तिनै सिसी क्यामेराका दृश्यबाट प्रहरीले दोषी पत्ता लगाउँछ । तर प्रहरीले पोखरामा एउटा यस्तो घर पनि फेला पारेको छ, जहाँ सिसी क्यामेरा जडान छ । र, प्रहरी त्यतिबेला झन् चकित पर्छ जतिबेला उसलाई थाहा हुन्छ कि त्यो सिसी क्यामेरा त प्रहरीकै निगरानीका लागि राखिएको हो ।

हो, पोखरा १२ चापापानीका नवीन गौचनको घरमा जडित सिसी क्यामेराले प्रहरी आवागमन निगरानी गरिरहन्थ्यो । गौचनको घरभित्र जुवातास खेल्ने खेलाउने गर्दा बाहिर प्रहरी आयो कि भन्ने थाहा पाउन जुवाडेहरुले सिसी क्यामेरा जडान गरेका रहेछन् । क्यामेराले खिचेका दृश्य देखिने स्क्रिन जुवाखेल्ने टेबुलमै जडान रहेछ । तै कास्की प्रहरीको टोलीले शनिबार राति (बिहान) २ बजे गौचनको घरमा तास खेल्दाखेल्दैका जुवाडे पक्राउ ग¥यो ।

एक प्रहरीका अनुसार सुरुमा त गौचनको घर पस्न प्रहरीलाई हम्मेहम्मे भएको थियो । प्रहरी आएको सिसी टिभी क्यामेरामा देखिएपछि एकजना जुवाडे घरबाट हाम फालेर भाग्न लागेका थिए । तर होसियारीपूर्वक प्रहरी घरभित्र गएर तीसमेत ६ जनालाई पक्राउ ग¥यो । उनीहरुबाट १८ लाख रुपैयाँ पनि बरामद भएको छ । रोचक के भने प्रहरीले उनीहरुलाई पक्रेर तास, पैसासहितको मुचुल्का तयार पार्दापार्दै भुइँखाट (लोबेड) हल्लियो । प्रहरी छक्क परे । पछि त खाटभित्र पैसासहितको मान्छे भेटिए । ‘कसैकसैले पेटभित्र पैसा लुकाउँदै थिए, कसैले डस्बिनमा फालेका,’ एक प्रहरीले भने, ‘एकाएक लोबेड हल्लियो, के र छ भनेको त मान्छे लुकिराखेको ।’

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार गौचनको घर भाडामा लिई त्यहाँ जुवातास खेल्ने खेलाउने गरिएको थियो । प्रहरीले गौचनसहित पोखरा महानगरपालिका १२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख नौमुले गाउँपालिका ८ घर भई पोखरा २६ विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना, कास्की मादीगाउँपालिका १० घर भई पोखरा महानगरपालिका १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा महानगरपालिका १६ बस्ने ३५ वर्षीय श्याम श्रेष्ठलाई पक्राउ गरेको छ।

उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा रनैतिकता विरुद्ध कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा प्रहरीले अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जनाएका छन् ।
यसअघि तिहारको भाइटीकाको ३ दिनअघि कात्तिक १८ गते माछापुच्छ«े गाउँपालिकाबाट १५ लाख रुपैयाँ नगदसहित ११ जना जुवाडेलाई कास्की प्रहरीले पक्रेको थियो । दुर्गम गाउँमा गएर खेल्दा थाहा हुन्न भन्ठानेर होटल भाडामा लिई जुवा खेलिरहेका उनीहरु पनि राति २ बजे नै प्रहरी फन्दामा परेका थिए ।

चितवन भरतपुर महानगरपालिका १ घर भई पोखरा बसपार्क बस्ने ३५ वर्षीय राजु घिमिरे, पोखरा ८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा ६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा २६ अर्चलेका ३३ वर्षीय स्वागत रानाभाट, स्याङ्जाको हरिनास गाउँपालिका ३ का २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाइड बस्ने २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार २ का २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका २ घर भई पोखरा १७ बस्ने ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण केसी र बागलुङ नगरपालिका ८ घर भई पोखरा १७ बस्ने ३९ वर्षीय मनबहादुर खड्का त्यतिबेला पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *