पर्वत ।
आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।
जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
कालीगण्डकीमा स्नान गर्न श्रद्धालुहरूकाे भीड
पर्वत जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी र सेतीवेणीमा बिहानैदेखि स्नान गर्नेको ठूलो मेला लागेको छ । मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमको रुपमा रहेको मोदीवेणीघाटमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुको घुइँचो लागेको छ ।
त्यस्तै, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा धौलागिरि, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन् ।
मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँको सङ्ख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मी, पाल्पाबाट श्रद्धालु आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । हरिबाेधनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकिर्तन समेत आयोजना गरिएको छ ।
आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन पनि रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ ।