ज्येष्ठ नागरिकलाई थप मात्रा खोप दिइने

काठमाडौँ ।

सरकारले ६० वर्षमाथिका नागरिकलाई अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको भेरोसेल खोपको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई थप मात्रा खोप दिइने जानकारी दिएको छ । यस्तै, दीर्घ रोगको समूह तोकी जटिल किसिमका दीर्घरोगीले समेत अतिरिक्त खोपको मात्रा लगाउन पाउनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ६० वर्ष वा सोभन्दा माथिका उमेर समूहका भेरोसेल खोप लगाएका व्यक्तिलाई थप मात्रा खोप दिने जानकारी दिनुभयो । उहाँले थप मात्रा खोप लगाउनका लागि पुरानो खोप कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने जानकारी दिनुभयो ।

सहप्रवक्ता अधिकारीले मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीले पनि अतिरिक्त मात्रा खोप पाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *