पर्वत ।
मोदी-२ देउपुर स्थित जननेत्र माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच ५५ जना विद्यार्थीहरूको लागि न्यानो सुइटर सहितको विद्यालय पोशाक तथा माक्स वितरण गरिएको छ ।
पोखरा स्थायी घर भई हाल बेल्जियममा बस्दै आउनु भएका चर्चित गीतकार , समाजसेवी व्यक्तित्व अर्जुनरत्न भिखारीकाे संयोजकत्वमा पोखरा स्थायी घर भई हाल बेलायत बस्नु हुने समाजसेवी दीपक पराजुली, प्राध्यापक शचित पराजुली, समाजसेवी राजेन्द्र तिमिल्सिना तथा देवबहादुर सोब लगायतलेे सो सहयोग प्रदान गर्नु भएको थियो ।
विद्यालय पोशाक लगाउन समेत समस्या भएका गरिब विद्यार्थीहरूले न्यानो कपडा लगाउन पाएकोमा खुशी भएका छन् ।
सो अवसरमा विद्यालयको तर्फबाट शिक्षक कुुमार लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रधानाध्यापक दीपक शर्मा ले यस्ता कार्यक्रमबाट विद्यार्थीहरूले प्रत्यक्ष राहत पाउने हुनाले विद्यालयले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमको अपेक्षा गरेको बताउनु भयो ।
प्रमुख अतिथिको रुपमा बोल्दै गीतकार, सहयोगी एवम् समाजसेवी व्यक्तित्व अर्जुन रत्न भिखारी ले गरिब, विपन्न तथा अप्ठ्यारो अवस्थामा परेका विद्यार्थीहरूलाई सहयोग गर्न पाउनु एक अवसर भएको र सहयोग गर्न पाउँदा आफूहरू अत्यन्त आनन्दित भएको साथै आगामी दिनमा पनि आफूहरू विद्यालयसङ्ग मिलेर सहयोग गर्न तयार रहेको आशय व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाताराम चापागाईकाे अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संयोजन र सञ्चालन शिक्षक देवेन्द्र गिरीले गर्नु भएको थियो ।