कविता : स्कूल चाहिँदैन

कविता: स्कुल चाहिँदैन

स्कुलै छेउमा मदिरा पसल
दिनभरि खुलेको छ
त्यसैको छेउमा स्कुलमा चाहिँ
भोटेताल्चा लागेको छ
पढ्न जाऊँ भन्यो पढ्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

मदिरा पसलमा
जोडीहरू टाँस्सिएर बस्दा कोरोना सर्दैन
स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ
त्यसैले
सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन
गेट बन्द छ, सिक्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

चुरोटको धुवाँ उडेको छ
चिया पसलहरूमा
नेताहरु गफिएका छन फोस्रा गफहरूमा
बसमा उभिने ठाउँ छैन
यातायातमा ठेलमठेल छ
मालपोतमा पेलमपेल छ
कोरोना स्कुलमा मात्र छ, पस्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

पार्टीकाे अधिवेशन चलेको छ
त्यहाँ कोरोना सर्दैन
बजारमा तँछाडमछाड चलेको छ
त्यहाँ कोरोनाले कोही मर्दैन
तर स्कुलभित्र आजकल कोरोना पसेको छ
पढ्न जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

लाग्छ :
स्कुलका शिक्षक कोरोना हुन्
उनीहरुले पढाएको ज्ञान ओमिक्रोन हो
बालबालिका बस्ने डेस्क बेन्चभरि
कोरोनाको डङ्गुर छ
बाटो चाहिँ जाम छ
कोरोना निसास्सिएर मरेको छ
यहाँ अरू काम गर्न पाइन्छ, पढ्न पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

सरकार भन्छ :
स्कुलभन्दा सडक सुरक्षित छ
स्कुलभन्दा भट्टीपसल सुरक्षित छ
अनि स्कुलभन्दा साझा बस सुरक्षित छ
यातायात विभाग र मालपोत सुरक्षित छ
स्कुल जान मनाही छ
त्यसैले स्कुल जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

पढेर मान्छे जान्नेसुन्ने भए
पढेर मान्छे कर्तुत बुझ्ने भए
पढेर मान्छे वाइडबडी र ओम्नी बुझ्ने भए
मिलमताेमा देश सकिएको बुझ्ने भए
त्यसैले स्कुल जान पाइँदैन
अब देशलाई स्कुल चाहिँदैन!

-कवि प्रेम राई `परीक्षित´

Leave a Reply

Your email address will not be published. Required fields are marked *