मोदी, पर्वत
जिल्लाको मोेदी गाउँ पालिका वडा नं २ देउपुर टापुमा रहेको आदर्श आधारभूत विद्यालयमा आज एक बिशेष समारोहको आयोजना गरी ५८ औँ बार्षिकोत्सब एवं शिक्षा सम्बद्ध सरोकारवालाहरुबीच अन्तरक्रिया, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विद्यालयको सबलीकरणका लागि सामुदायिक र संस्थागत विद्यालयबीच साझेदारी कार्यक्रमको भूमिका, सहयोगका क्षेत्रहरु, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि स्थानीय सरकार, अभिभावक र विद्यालयको भूमिका लगायतका विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्ने वत्ताहरुले सामुदायिक र संस्थागत विद्यालयहरुले गरेका राम्रा अभ्यासहरुको एक आपसमा अनुभब आदान प्रदान गर्दै शैक्षिक गुणस्तर अभिबृद्धिमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
सो कार्यक्रममा बोल्दै मोदी गाउँ पालिका वडा नं २ का वडाध्यक्ष विकास तिमिल्सनाले सामुदायिक शिक्षाको सुधार एवं गुणस्तर अभिबृद्धिका लागि स्थानीय सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । सामुदायिक विद्यालयहरुको भौतिक निर्माणका कार्यक्रमहरु सँगसँगै प्रविधिको पहुँच विकास र विस्तारका कार्यक्रमहरुमा वडाले लगानी गरिरहेको जानकारी दिनु भयो ।
वडाका सबै बिद्यालयहरुमा फाइबर इन्टरनेटको सुबिधा गरिएको, दरबन्दी कम भएका विद्यालयहरुमा शिक्षकको व्यवस्था भएको, वडाकै सहयोग र व्यवस्थापनमा कक्षा ११ र १२ सम्म पूर्ण निशुल्क शिक्षा, एसइइ सहयोग कक्षाका लागि अनुदानको व्यवस्था, बाल कक्षाहरूकाे स्तराेन्नती, वडाका सबै विद्यार्थीहरुलाई कापी कलम लगायतका स्टेशनरी बितरण, गरीब, असहाय , टुहुरा बालबालिकाहरुका लागि बिद्यालय पोशाकको व्यवस्था, बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापहरुको संचालन, अभिभावक सचेतना कार्यक्रम लगायतका बिबिध क्षेत्रमा कार्यहरु संचालन गरिएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिनु भयो ।
सोही अबसरमा बोल्दै नमुना आदर्श विद्यालय विकास कोषका संयोजक एवं नमुना आवासीय माविका प्रिन्सपल इन्द्रमान खत्रीले शिक्षाको सुधार र विकासमा वडाले प्रशंसनीय कार्यहरु गरेकोमा खुशी व्यक्त गर्दै शिक्षामा गरिएको लगानीको प्रतिफल देखिन केही समय लाग्ने भएकोले धैर्यताका साथ निरन्तर सुधारको कर्ममा सबै सरोकारवालाहरु खट्नु पर्ने आवश्यकता औल्याउनु भयो । हरेक अभिभावकले आफ्ना बालबालिकाहरुको बर्तमानको शिक्षाको गुणस्तरका निम्ति योगदान गर्न सके मात्र भविष्यमा उनीहरु राष्ट्रको निम्ति आवश्यक पर्ने दक्ष , सक्षम र योग्य नागरिकको रुपमा विकसित हुन सक्छन् भन्ने बिचार व्यक्त गर्नु भयो । सो अबसरमा पशुपति आधारभूत विद्यालयका प्रअ तारापति तिमिल्सिना, जननेत्र माविका सहायक प्रअ भूमिराज शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा शैक्षिक सुधार र बिकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै वडा नं २ का वडाध्यक्ष विकास तिमिल्सिना, आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक देवनाथ गिरी, जननेत्र माविका सहायक प्रधानाध्यापक भूमिराज शर्मालाई नमुना आदर्श विद्यालय विकास कोषको तर्फबाट सम्मान गरिएको थियो । सो कोषबाट विद्यालयमा अध्ययनरत ३२ जना बिद्यार्थीहरुलाई कापी कलम लगायतका स्टेशनरी समेत वितरण गरिएको थियो ।
सोही अवसरमा नारायण माधबी शैक्षिक छात्रबृत्ति कोषबाट जननेत्र मावि, आदर्श आधारभूत बिद्यालय र नमूना आवसीय माविका एक एक जना उत्कृष्ट बिद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने विद्यालयका परीक्षाहरुमा उत्कृष्ट स्थान प्राप्त गरेका बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत विद्यालयकी शिक्षिका मैयाँ कुमारी शर्माले गर्नु भएको थियो भने संचालन प्रअ देबनाथ गिरीले गर्नु भएको थियो ।









