स्थानीय निर्वाचन : सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान हुने

काठमाडौं ।

निर्वाचन आयोगले देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको उनले बताए। ‘सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्णय भएको छ। त्यसका लागि सबै स्थानीय तहहरुसँग समन्वय गर्ने काम भइरहेको छ,’ उनले सञ्चारकर्मीमाझ भने।

त्यस्तै मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रले प्राविधिक तयारी गरिरहेको उनले बताए। निर्वाचन आयोगका आयुक्तहरु बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा पुगेर निरीक्षण गरेको उनले बताए।

केन्द्रले भोलिसम्म नमुना मतपत्र छाप्ने र त्यसको आधारमा मतपत्रलाई परिमार्जन गर्नुपरे गरेर पर्सीबाट मतपत्र छपाइ गर्ने उनले बताए।

प्रवक्ता पौडेलका अनुसार हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइने छ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइने छ। वैशाख १६ पछि मतपत्र जिल्लामा पठाइने आयोगले जनाएको छ। दुर्गम क्षेत्रमा भने हेलकोप्टरमार्फत् मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *