पर्वत : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ गौवारीका ६४ वर्षीय धनलाल बिकको गएराति भएको मृत्युलाई शंकाको रूपमा हेर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले उनकै छोरा ४५ वर्षीय राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीका अनुसार आइतबार राति बाबुछोराबीच झगडा भएको पाइएको छ।
झगडा भएपछि राजकुमार छिमेकीको घरमा गएर बसेको र बाबु मृत फेला परेकाले छोराले हत्या गरेको हुनसक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो। सोमबार बिहान धनलाल घरको आँगनमा लडिरहेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
उनीहरूबीच बेला बेला झगडा हुने गरेको र बेलुका खाना खाएर छिमेकीकोमा सुत्न गएका राजकुमार बिहानसम्म पनि नफर्किनु तथा उता घरमा बाबु मृत फेला पर्नुले छोरामाथि शंका गर्ने आधार रहेको प्रहरीले बतायो।
घरमा मृतकका छोरा र पत्नी बस्दै आए पनि केही दिनअघि मात्र धनलालकी पत्नी चितवन माइती गएकी थिइन्। धनलालको शव पोस्टमार्टमका लागि पर्वत अस्पतालमा राखिएको छ।
घटनास्थलमा धनलालको मोबाइल टुक्रा–टुक्रा भएको पाइनु तथा काठ र ढुंगासमेत भेटिएकाले त्यसैले प्रहार गरी हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ।