पर्वत ।
आज (शनिबार) महाशिवरात्री पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।

उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव, पर्वतकाे गुप्तेश्वर लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ ।