मोदी , पर्वत ।
ग्लोबल मनी सप्ताह २०२३ को अबसरमा जिल्लाको मोदी गाउँ पालिका वडा नं २ मा रहेको जननेत्र माविमा बित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । प्लान योर मनी , प्लान्ट योर फ्यूचर भन्ने नाराका साथ नेपाल बैंक लिमिटेड , मोदी शाखाको आयोजनामा शुक्रबार यूवालाइ वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यवहारिक रुपमा सक्षम बनाउने उद्धेश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड कुस्मा शाखाका रमाकान्त शर्माले नेपालमा बित्तीय साक्षरताको अबस्था बित्तीय प्रणाली, बैङ्किङ कारोबार गर्ने तरिका, वित्तीय अनूशासन लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गर्नु भएको थियो भने सोही शाखाका गणेश शर्माले डिजिटल बैंकिङ र यसको प्रयोग गर्दा ध्यान दिनूपर्ने कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममको प्रमुख अतिथिको रुपमा बोल्दै मोदी गाउँ पालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष बेल बहादुर कार्कीले मोदी गाउँ पालिकामा नेपाल बैंकको शाखा स्थापना भए पश्चात बैङ्किङ कारोबार सरल, सहज र सुरक्षित हने बिश्वास व्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड मोदी शाखा प्रबन्धक शिब प्रसाद शर्माले अहिलेको युगमा डिजीटल साक्षरता अपरिहार्य आबश्यकता बनिसकेको हुँदा यसका लागि विद्यालय तहबाटै ज्ञान, सीप र व्यवहारको विकास गराउनु पर्ने बताउनु भयो । प्रबन्धक शर्माले युवा वर्गलाई बैङ्किङ् कारोबार गर्दा सचेत भई विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक वृद्धिमा सहयोग पू¥याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।
कक्षा १० देखि १२ सम्मका बिद्यार्थी र शिक्षक गरी करीब एक सय जनाको सहभागिता रहेको कार्यक्रमको संचालन नेपाल बैंक लिमिटेड मोदी शाखाका दिपिन ढकालले गर्नु भएको थियो भने जननेत्र माविका प्रधानाध्यापक दिपक शर्मा र बिद्यार्थी सन्दिप चापागाईले कार्यक्रमको महत्व र प्रभावकारिता माथि चर्चा गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।





