पर्वत।
जिल्लाको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीको नव निर्मित वडा कार्यालय भवनको शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक भव्य समारोहका बीच उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र निती निर्माण तहमा रहेका ब्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुन्छ भन्नुभयो । तीन वटै तहका सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उहाँले आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुवँर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वमान वडा अध्यक्ष बसन्त गुरुङ्ग लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उक्त वडा कार्यालय भवन ६८ लाख रुपैयाको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र निलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निशुल्क दिनुभएको थियो भने स्थानिय लोकनाथ रिजालले बाटोको लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जानकारी दिएको छ ।