मोदी, पर्वत ।
जिल्लाको तिलाहार स्वास्थ्य चौकीले स्थापनाको ५० बर्षलाई स्वर्ण बर्षको रुपमा मनाएको छ । मोदीगाउँपालिका वडा न ६ मा रहेको तिलाहार स्वास्थ्य चौकीले संस्था स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा एक विशेष कार्यक्रमको आयोजना गरी स्वर्ण बर्ष मनाएको हो ।
स्वर्ण बर्ष कार्यक्रमको उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले सवै स्वास्थ्य संस्थाहरुमा न्यूनतम मापदण्डहरु अनिवार्य रुपमा लागू हुनुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल गौतम, स्वास्थ्य कार्यालय प्रमुख सन्तोष पौडेल, पूर्व ब्यवस्थापन समिति अध्यक्ष नन्दलाल सुवेदी, मोदी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
स्वर्ण बर्षको अवसरमा स्वास्थ्य चौकीमा कार्यरत पूर्व कर्मचारीहरु, व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु, पूर्व तथा वर्तमान स्वयमसेविकाहरु तथा स्वास्थ्य चौकी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
स्वर्ण वर्षकै अवसरमा स्मारिका समेत प्रकाशन गरिएको छ । स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयले प्राप्त गर्नुपर्ने स्वास्थ्य सेवाका सुचकहरु उपलब्ध गराउन संस्थाले खेलेको भूमिकाप्रति सहभागीहरुले उच्च प्रशंसा गरेका थिए ।
स्वास्थ्य चौकी प्रमुख विक्रम भुवाजीले सञ्चालन गरेको कार्यक्रमको स्वागत महिला स्वास्थ्य स्वयमसेविका देवी लामिछाने तथा अध्यक्षता वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले गर्नु भएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु




