बडिगाडका प्रहरी वरिष्ठ नायव निरीक्षक मृत्यु प्रकरण : हत्या गरिएको स्थलगत अनुसन्धानको निष्कर्ष

बागलुङ ।

सोमबार मध्य राति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ ।जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो ।

स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको प्रमुख खड्काले बताए। ‘घटनास्थलको प्रारम्भिक अनुसन्धान सहित मुचुल्का उठाउने काम सकिएको छ, घटनास्थलको अवस्था हेर्दा पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रमुख खड्काले भने, ‘घटनाको बारेमा थप अनुसन्धान हुन बाँकी छ, हामीले होटल सञ्चालक र निजको छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने कार्य अगाडि बढाएका छौँ, हत्या कसले र के कारणले गरेको हो त्यो थप अनुसन्धान पछि खुल्नेछ् ।’यो घटनामा होटल सञ्चालकको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको खड्काको भनाइ रहेको छ ।

पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत फेला परेका थिए । घटना स्थलको प्रारम्भीक अवस्था हेर्दा पौडेलको शव होटलको भुइतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको खड्काले बताए।

मृतक पौडेलको घाटीमा निल डाम रहेको खड्काको भनाइ रहेको छ तर बाहिर आएजस्तो झुन्डिएको भन्ने कुरा नदेखिएको र कोठाको उचाइ झुन्डिने जस्तो समेत नरहेको खड्काले पुष्टि गरे।

मृतक पौडेलको आफन्तहरु र प्रहरीको टोलि घटनास्थलको अनुसन्धान सकेर शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम फिर्ता भइसकेको बताइएको छ ।

सोमवार दिनभर वडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका–६ का वडा अध्यक्ष वीर बहादुर खत्रीले बताए।

प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृतनै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ ।

समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी नै मृत फेला परेको घटनाको सुक्ष्म अनुसन्धान गरि प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

(न्युज 24 मा प्रकाशित समाचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *