मोदी, पर्वत।
मोदी गाँउपालिका २ देउपुरको ढाडखेतबाट बाजुङ पोखरे जोड्ने झोलुंगे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । झोलुंगे पुल निर्माण भएपछि मोदी गाँउपालिकाको देउपुर र बाजुङ दुई गाउँ जोडिएका छन् भने पुल निर्माण भएपछि मोदीका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ ।
एक करोड साठी लाख लागतमा निर्माण भएको सो पुलको लम्बाई २६५ मिटर रहेको छ । देउपुर , बाजुङ जोड्ने सो झोलुंगे पुलकाे निर्माण बिएलटी निर्माण कम्पनीले गरेको हो ।
उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयले बर्खायाममा समस्या झेल्नुपरेको थियो । यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर यात्रा गर्दै आएका थिए । पुल निर्माण सँगै देउपुर र बाजुङ आवतजावत गर्न,विद्यार्थीहरुलाई विद्यालय जान आउन पनि सहज हुने भएको छ ।
झोलुंगे पुल निर्माणले झण्डै एक घण्टाको बाटो पाँच मिनेटमै पुग्न सकिने भएको छ । छोटो बाटो खोला वारपार गर्न सहजता भए पनि ढाडखेत जुकेपानी सम्म पुग्नेबाटो भत्किएर आवतजावतमा निकै समस्या भएको र बाटो मर्मतमा सरोकारवालाले चासो दिनुपर्ने स्थानीय देव बहादुर हमालले बताए ।