पर्वत ।
जिल्लाकाे मोदी गाउँपालिकाले आधारभूत तहका लागि ‘हाम्रो मोदी’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका लागि गाउँपालिकाले ‘हाम्रो मोदी’ नामक आफ्नै पाठ्यक्रम निर्माण गरी सोमबार विमोचन गरिएको शिक्षा शाखा प्रमुख एबम् पाठ्यक्रम निर्माण कार्य दलका संयोजक झक प्रसाद गौतमले बताउनुभयाे ।
मोदी गाउँपालिकाभित्रका ऐतिहासिक धार्मिक सामाजिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, राजनीतिक, भौगोलिक आदि पक्षलाई समेट्दै विद्यार्थीहरुलाई पेसा र व्यवसायसँग जोड्न तथा स्वास्थ्य, पोषण र सरसफाइ क्षेत्रको ज्ञान र सिप प्रदान गर्न पाठ्यक्रम उपयोगी हुने शाखा प्रमुख गौतमले जानकारी दिनु भयो ।
पाठ्यक्रमले विद्यार्थीहरुलाई स्थानीय सम्भावित विपद्सँग जोगिन सिकाउनुका साथै स्थानीय सरकार र यसका विषयगत शाखाबाट प्राप्त हुने सेवा सुविधा र प्रक्रियाका बारेमा परिचित गराउँदै स्थानीय कला, साहित्य र धर्म संस्कृतिसँग परिचित हुन तथा संरक्षण र सम्बद्र्धनमा लाग्न उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।
परम्परागत सिप र प्रविधिसँग परिचित हुँदै आधुनिक प्रविधिलाई दैनिकीमा जोडेर आफ्नो दिनचर्यालाई सहज बनाउने उद्देश्य समेत स्थानीय पाठ्यक्रमले राखेको शिक्षा अधिकृत प्रकाश क्षेत्रीले जानकारी दिनु भयो । “एक कक्षा एक उत्पादन, एक विद्यार्थी एक सिप” भन्ने मान्यतालाई मूर्तरुप दिने गरी पाठ्यक्रममा विषय क्षेत्र निर्धारण गरिएको उहाँले बताउनु भयो ।
उत्पादन र श्रमलाई सिकारुवर्गको दैनिकीसँग जोड्नका लागि स्कुलदेखि फार्म सम्म र फार्म देखि स्कुलसम्म भन्ने क्रियाकलापमूखी कार्यक्रमलाई समेत पाठ्यक्रममा समावेश गरिएको छ । मोदीका विषयवस्तुमा विद्यार्थीलाई परिचित गराउँदै मानव मूल्य र मान्यताका पाठसम्म सिकाउने गरी पाठ्यक्रममा विभिन्न दश प्रकारका क्षेत्रहरु र तिनका क्षेत्र, क्रम तथा विस्तृतीकरण समेत समेटिएको छ ।
पाठ्यक्रम विमोचन कार्यक्रममा बोल्दै मोदी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले गाउँपालिकाकाे चिनारीसँगै राष्ट्रिय पाठ्यक्रममा नसमेटिएका स्थानीय रुचि र आवश्यकताका विविध विषयवस्तु समेटर पाठ्यक्रम निर्माण गरिएको हुँदा प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालाहरुको सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले स्थानीय पाठ्यक्रम निर्माणले गाउँपालिकाको परम्परा, रहनसहन, संस्कार, संस्कृतिजस्ता विभिन्न विषयको बारेमा विद्यार्थीलाई जानकारी पाउन सजिलो हुने बताउनुभयो । आफ्नो मौलिक पहिचानलाई समेटेर तयार गरिएको पाठ्यक्रम भएकोले अपनत्व महसुस गरी सिकाइ सहजीकरण हुने र माटोप्रतिको माया जगाउन तथा श्रमको सम्मान गर्ने बानीको विकास गराउन सकिने विचार व्यक्त गर्नुभयो । स्थानीय रैथाने बालीहरुको संरक्षण गर्दै उत्पादकत्व वृद्धि तथा बजारीकरण गर्न थप सहयोग पुग्ने धारणा राख्नु भयो । पाठ्यक्रम भावी पुस्ताका लागि पनि उत्तिकै उपयोगी बन्ने अध्यक्ष शर्माले बताउनु भयो ।
उक्त पाठ्यक्रम मोदि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झकप्रसाद गौतम संयोजक रहेको १३ सदस्यीय कार्यदलले ४ महिना लगाएर निर्माण गरेको थियो । पाठ्यक्रम निर्माणको क्रममा स्थानीय बिज्ञताको भरपूर उपयोग गर्दै प्रतक्ष्य र प्रश्नावली मार्फत वडा तह सम्म पुगी सबै सरोकारवालाहरु सँग व्यापक छलफल, अन्तरक्रिया गरिएको कार्यदलका संयोजक झक प्रसाद गौतमले जानकारी दिनु भयो।
गाउँ पालिकाभित्रका ५३ ओटा सामुदायिक तथा ५ ओटा संस्थागत गरी ५८ विद्यालयमा भोलि भाद्र ५ गते देखि परीक्षणको रूपमा स्थानीय पाठ्यक्रम लागू हुने र यसै आर्थिक वर्षमा पाठ्यपुस्तक निर्माणको प्रक्रिया समेत अगाडि बढाउने तयारी भइरहेको योजना शाखा प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।
जिल्लाका फलेबास नगरपालिका र जलजला गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रमको पढाईको शुरुवात गरिसकेका छन् भने पैंयू, महाशिला, विहादी र कुश्मा पाठ्यक्रम निर्माणको चरणमै छन् ।