पर्वत ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका जिल्लाको मोदी गाउँपालिका वडा नं ६ डिमुवा बजारमा संचालन भैरहेको अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिताका फाइनल खेलहरु आज शनिबार सञ्चालन हुने भएका छन् ।
गत भदौ १९ गतेदेखि संचालन भइरहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल फलेबास नगरपालिका वडा नं ६ देबीस्थान र कुस्मा नगरपालिका १ पाङबीच हुने भएको हो । देबीस्थानले आर्थर डाँडाखर्क र पाङले देउपुरलाई पराजित गरी फाइनलमा पुगेका हुन् ।
त्यसैगरी खुला महिला भलिवल तर्फ धादिङ स्पोर्टस् क्लब र चित्रे भलिबल टिम बीच उपाधिको लागि फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अहिले तेस्रो स्थानको लागि वडा नं २ देउपुर र आर्थर डाँडाखर्क बीच खेल शुरु हुनै लाग्दा सिमसिमे पानी परिरहेकाे छ । हिजो यी दुबै टीम बीच भएको खेल समय अभावका कारण स्थगित भएको थियो ।
अन्तरवडा स्तरीय भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले १ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ भने द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार १५ हजार ५ सय ५५ रहेको छ । सो प्रतियोगितामा पर्वत जिल्लाका विभिन्न वडाका गरी १६ टिम सहभागी भएका थिए । प्रत्येक वडाको समुहमा दुई जना बाहिरी खेलाडी राखिएको थियो ।
त्यसैगरी खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम पुरस्कारको राशि रु ५५ हजार ५ सय ५५ र द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ ।
