मोदी , पर्वत
बडा दशैंको नवौं दिन बिहीबार मोदी गाउँपालिकाका विभिन्न मठ मन्दिर तथा शक्तिपीठहरुमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी पर्व मनाइएको छ। महानवमीको अवसरमा यहाँका विभिन्न शक्तिपीठहरुमा राँगा बोकाहरुको बलि दिएर मनाइएको हो।
यसवर्ष कोरोनाको प्रभाव क्रमशः घट्दै गएपछि विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचाे लागेको छ । मोदी गाउँपालिकाभित्र रहेका धार्मिक तथा ऐतिहासिक मन्दिरहरु देउपुरकोट, बाजुङकोट, राम्जाकोट, ताङ्लेकोट, ठानाकोट, लगायतका कोट मन्दिरहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएकाे छ । यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिक राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।
महानवमीको अबसरमा उक्त मन्दिरहरुमा भक्तजनहरुले बाजागाजा सहित पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन्।
देबी दुर्गालाई बलि दिएमा मनको आकांक्षा पुरा हुने बिश्वास रही आएको छ । बलि दिएसँगै देबी खुसी हुने र आफुले मनले आटे चिताएको कामना पुरा हुन्छन् भन्ने मान्यता रहेको जनविश्वास छ ।
यस बर्ष पोखरा, काठमाण्डौबाट समेत भक्तजनहरु पुजाआजाको लागि गाउँ फर्किएपछि चाडपर्वहरु पनि पुरानै लयमा फर्किएको स्थानीयबासीहरु बताउँछन् ।
फाइल फोटो
