कोत कालिका मन्दिर पुनर्निर्माणका लागि नागरिक अभियान

पर्वत ।

कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको ऐतिहासिक कोत कालिका मन्दिर पुनर्निर्माणका लागि पुनः नागरिक अभियान सुरु भएको छ । मल्लकालिन कोत मन्दिर जीर्ण हुँदै गएपछि स्वतस्फुर्त रुपमा नागरिकहरुले अभियान संचालन गरेका हुन् ।

उच्च शिक्षा एवं रोजगारीका लागि विदेश गएका स्थानिय युवाहरु आर्थिक संकलन अभियानमा पहिल्यैदेखि जुटेका थिए । विशेषतः अमेरिका, जापान, यूरोपियन मुलुक, मलेसिया लगायतका देशहरुमा रहेका युवाहरु सक्रियतापूर्वक लागेका हुन् । विदेशबाट मात्र ५० लाख बढी संकलन भइसकेको नेपालका लागि अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य यम बहादुर रेग्मीले जानकारी दिए ।

विदेशमा रहेका युवाहरुले आफ्नै जन्मस्थलको कोत कालिका मन्दिर पुनर्निर्माण गरि धार्मिक तथा पर्यटकिय आकर्षणको केन्द्र बनाउने लक्ष्य अनुरुप स्वदेशमा पनि अभियान संचालन गरिएको छ । सदस्य रेग्मीका अनुसार विदेशमा सहयोग संकलन गर्ने कार्य जारी रहेको छ र अन्य देशहरुमा पनि समन्वय भइरहेको छ ।

साविक खुर्कोट गाविस निवासी सबैको अपनत्व र मायाको केन्द्र बनाउनुपर्ने कुरालाई हृदयंगम गर्दै कोत कालिका निर्माण समिति वैधानिक रुपमा दर्ता गरी नागरिक अभियान संचालन गरिएको छ । विधान वमोजिम समितिले साधारण सदस्यका लागि १ हजार, आजीवन सदस्यका लागि ५ हजार र विशिष्ट सदस्यका लागि १५ हजार र मानार्थ सदस्यका लागि ५० हजार भन्दा माथि सहयोग संकलनका लागि स्वेच्छिक आह्वान गरेको छ ।

विजयदशमीको भोलिपल्टै आश्विन ३० गते देखि पुनः संचालन भएको अभियान जारी रहेको छ । खुर्कोटका साविक वडाहरुमा अभियान गरिसकिएको छ । घरधुरी अभियानमा कुश्मा नगरपालिका वडा नं. २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोला, पुनर्निर्माण समितिका सचिव तिर्थ प्रसाद शर्मा, कोषाध्यक्ष शान्ति शर्मा कुमाल, आर्थिक समितिका संयोजक देवराज शर्मा लगाएत डिल्लीराम शर्मा, गुप्तनिधि शर्मा, कमलराज पौडेल, प्रेम बहादुर रेग्मी, गणेश बहादुर क्षेत्री, कृष्ण प्रसाद पौडेल, लालकृष्ण बास्तोला, यज्ञ प्रसाद बास्तोला, खुर्कोट स्वास्थ्य चौकीका ईन्चार्ज टेक नारायण सुवेदी, हरिप्रसाद शर्मा, लाल बहादुर क्षेत्री, टीकाराम बास्तोला लगायतको टोलीले घरदैलोमा सहभागी थिए ।

कोत कालिका पुनर्निर्माणका लागि मिन वहादुर रेग्मीको अध्यक्षतामा १५ सदस्सीय समिति गठन भई जिल्ला प्रशासन कार्यालय, पर्वतमा दर्ता भई सकेको छ । उपाध्यक्ष शेषराज रेग्मी, सचिव तिर्थ प्रसाद शर्मा र कोषाध्यक्षमा शान्ति शर्मा कुमाल रहेका छन् । आर्थिक समितिको संयोजकमा देवराज शर्मा रहेका छन् । साविक वडा अनुसारको प्रतिनिधि रहने गरी मूल समिति, आर्थिक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

कोत कालिका मन्दिरको पुनर्निर्माणका लागि झण्डै ३ करोडको डिपिआर तयार भएको छ । उक्त डिपिआर बमोजिमका संरचना निर्माण गर्नका लागि साविक खुर्कोटबाट ५० लाख, विदेशबाट १ करोड ५० लाख र संघिय, प्रदेश र स्थानिय सरकारबाट १ करोड रकम जम्मा गर्ने लक्ष्य लिएको आर्थिक समितिका संयोजक देवराज शर्माले जानकारी दिए ।

कोत कालिका मन्दिर निर्माणका लागि साविक खुर्कोटका ९ वटै वडाका घरधुरीहरुको सकृय सहभागिता रहेको देखिएको छ । आर्थिक सहयोग संकलनका लागि सबैले स्वतस्फूर्त रुपमा उत्साह देखाई सहयोग गरेका छन् ।

कोत कालिका मन्दिर निर्माण समिति दर्ता भई तदर्थ समिति गठन भएकाले विधान बमोजिम प्रथम अधिवेशन कार्तिक १८ गते वडा कार्यालय ढाँणमा सम्पन्न गर्ने तदर्थ समितिले जानकारी दिएको छ । उक्त अधिवेशन पछि गठन हुने समितिले मन्दिरको निर्माण कार्य द्रुतगतिमा संचालन गरिने जनाइएको छ ।

हाल सम्म दुई सय बढी आजीवन सदस्य, एक सय बढी साधारण सदस्य,११५ जना विशिष्ट सदस्य र २ जना मानार्थ सदस्य वितरण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *