पर्वत ।
जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा तीन दिने बृहत् श्रमदान सम्पन्न भएको छ । चाडपर्वको पूर्वसन्ध्यामा स्थानीय स्तरमा बृहत् श्रमदान कार्यक्रम सम्पन्न भएको हो। पूर्व वडाध्यक्ष विकास तिमिल्सिना तथा वर्तमान वडाध्यक्ष बेल बहादुर कार्कीको संयुक्त पहलमा संचालन गरिएको उक्त श्रमदानमा झण्डै ४०० जना स्थानीय वासीहरु सहभागी भएका थिए ।
दशै तिहार जस्ता ठुला पर्वहरु नजिकदै गर्दा यात्रुहरुका लागि सडक पहुँच सहज होस् भन्ने उद्देश्यका साथ सो श्रमदानमा स्थानीयबासी, युवाहरू, महिला तथा सामाजसेवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। देउपुर- ठूलिपोखरी – लप्सीबोट सडकको सुञ्चाप पानी खोल्सा खण्डको बाटो मर्मत, सरसफाइ र ग्यावीन भर्ने काम सकिएको छ। वडा नं २ देउपुका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले स्थानीयको सक्रिय सहभागिताले हौसला मिलेको बताउदै चाडपर्वमा सहज आवतजावतका लागि उक्त कार्य आबश्यक रहेको बताउनु भयो ।
वर्तमान वडाध्यक्ष बेल वहादुर कार्कीले श्रमदानलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । स्थानीय बासिन्दाहरूले पनि सडक सुधार भएपछि यातायात र हिँडडुलमा सहज हुने विचार व्यक्त गरेका छन् । तीन दिनसम्म सञ्चालन भएको श्रमदान असोज १, ३ र ४ गते सञ्चालन भएको हो । ५ गते आईतबार पनि झण्डै दुई दर्जन स्थानियले जनश्रमदान गरेका थिए । यस किसिमका सामूहिक श्रमदानहरूले गाउँको समुन्नतिमा टेवा पुर्याउनुका साथै सामुदायिक सहकार्यको उदाहरण समेत प्रस्तुत गरेको शिक्षा विकास तथा समन्वय इकाई, पर्वतका प्रमुख मतिलाल चपाईले बताउनु भयो ।
मोदी गाउँ पालिकाको वडा नं १, २ र ३ लाई केन्द्र संग जोड्ने मुख्य सडक अवरुद्ध भए पछि गाउँलेहरुलाई निकै सास्ती भएको र श्रमदानले सडक सुचारु भए पछि राहत मिलेको वडा नं ३ का अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले बताउनु भयो । जनश्रमदान ले आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने गतिलो संदेश दिएको छ। वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।
सो श्रमदानमा मोदी गाउँ पालिका अध्यक्ष, हिरादेवि शर्मा, वडा नं १ का वडाध्यक्ष टेक बहादुर गुरुङ, वडा सदस्यहरू, कर्मचारीहरु, शिक्षक, विद्यार्थी, व्यापारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । श्रमदानका लागि निकै टाढा टाढा बाट समेत गाउँलेहरू आएका थिए ।
सो जनश्रमदान बाट करिब ५० घनमिटर बराबरको २७ ओटा जाली भरिएको छ भने ढलान भित्रको बाँकी ओडार परेको भाग ढुंगाले भर्ने काम समेत भएको छ । जनश्रमदान बाट सडकमा थुप्रिएको ठूलो पहिरो पन्छाउने काम समेत गरिएको छ । चार दिन सम्मको जनश्रमदान बाट करिब ५ लाख बराबरको काम गरिएको वडाध्यक्ष बेल बहादुर कार्कीले जानकारी दिनु भएको छ ।
सडक मर्मतका लागि आवश्यक जाली जिल्ला प्रशासन कार्यालय अन्तर्गतको विपत् व्यवस्थापन कोष, मोदी गाउँ पालिका र वडा बाट उपलब्ध गराइएको थियो ।