रुखबाट लडेर प्रधानाध्यापक पुनको दुःखद निधन 

पर्वत ।

जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ क्याङस्थित लेसपार माध्यमिक विद्यालयका प्रधानाध्यापक रिकबहादुर पुनको रुखबाट लडेर मृत्यु भएको छ।  स्थानीय खुइजरी गाउँमा बस्दै आउनुभएका ५४ वर्षीय पुन मंगलबार दिउँसो घरभन्दा माथि रहेको सामुदायिक वनमा टाप्सेको रुखमा गाईभैँसीलाई खुवाउने घाँस काट्ने क्रममा लड्नुभएको थियो। रुखबाट लडेर गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलका अनुसार, रुखबाट खसेका पुनको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको थियो। उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका थिए। उद्धारमा केही ढिलाइ भएका कारण पनि उहाँको मृत्यु हुन पुगेको प्रहरी निरीक्षक पटेलले जानकारी दिनुभयो।

वडा नं. ४ को एक मात्र माध्यमिक विद्यालयका प्रधानाध्यापकको असामयिक निधनपछि सिङ्गो गाउँ नै शोकमग्न बनेको छ। शैक्षिक तथा सामाजिक विकासमा सक्रिय व्यक्तित्व भएका  पुनको निधनप्रति मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा र उपाध्यक्ष बिमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले एक शोक वक्तव्य मार्फत गहिरो समवेदना प्रकट गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *