काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग नेपाल शिक्षक महासंघका पदाधिकारीले शुक्रबार मध्यराति छलफल गरेका छन्। १८ दिनदेखि विद्यालय शिक्षा ऐन र आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पबारे छलफल गरे लगत्तै सभामुख घिमिरेसँग छलफल भएको हो।
विगत १८ दिनदेखि जारी आन्दोलनमा चासो देखाउँदै प्रधानमन्त्री ओलीले महासंघका प्रतिनिधिहरूलाई वार्ताका लागि बालुवाटार बोलाएका थिए। प्रधानमन्त्रीको आह्वानपछि महासंघका प्रतिनिधिहरू बालुवाटार पुगेका हुन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे प्रधामन्त्री र सभामुखसँग छलफल भएको जानकारी दिए। भेटपश्चात उनले भने, ‘करिब २ घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग, मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रष्ट पारियो। प्रधानमन्त्रीज्युले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो।’सुवेदीले विषय टुंगो नलागेको भन्दै आन्दोलन जारी रहेको जानकारी दिए। छलफलमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।