पर्वत ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।
सानै उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा देवकोटाले सयभन्दा धेरै कृतिहरुको रचना गर्नु भएको छ ।
आफ्ना कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।