मोदीमा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न

पर्वत ।

मोदी गाउँ पालिकाको  आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी  शिक्षक तालिम बुधबार मोदी सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका भित्रका आधारभूत तह कक्षा १–३ मा शिक्षण गर्ने शिक्षकहरु तालिममा सहभागी भएको शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष हिरा देबी शर्माले  शिक्षाको जग आधारभूत तह भएकोले यसलाई बलियो बनाउन शिक्षकको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नु भयो । अध्यक्ष शर्माले पाठ्यक्रम शैक्षिक क्रियाकलापको मार्गदर्शन भएकोले शिक्षण क्रियाकलापलाई व्यवहारिक र उपलब्धीमूलक बनाउन शिक्षकहरुले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक र अनिवार्य रहेको बताउनु भयो ।

सो तालिम कार्यक्रममा बोल्दै सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले शैक्षिक गुणस्तर सुधारका लागि समयबद्ध कार्य तालिका निर्माण गरी तल्ला कक्षाहरू बाटै प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी भई रहेको बताउनु भयो ।

सहभागीहरूको तर्फबाट बोल्दै  पञ्च कोशी आबिका शिक्षक मधुशोधन अधिकारीले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको अनुभूति व्यक्त गर्नु भयो । शिक्षक अधिकारीले भन्नुभयो ” विषेशगरी एकीकृत पाठ्यक्रम अनुसारको मूल्यांकन प्रक्रिया सम्बन्धमा अन्यौलता थियो त्यसलाई तालिमले हटाई दिएको छ । अब हामीलाई परिवर्तित पाठ्यक्रम अनुसार सिकाइ सहजीकरण र मूल्यांकन गर्न सजिलो भएको छ । सिकेका कुराहरूलाई विद्यालयमा लगेर अरू शिक्षक साथीहरुलाई समेत सिकाउन सक्ने भएका छौं ।”

त्यसैगरी सहभागी शिक्षक अनुपा पौडेलले तालिम निकै व्यावहारिक र आवश्यकतामा आधारित भएको हुँदा सिकाइ सहज र प्रभावकारी बनेको धारणा व्यक्त गर्नु भयो । “तालिमले पाठ्यक्रम कार्यान्वयनका लागि आत्मबल बढाएको छ । अब ढुक्कले कार्यान्वयन गर्छौं । ”  शिक्षक पौडेलले भन्नुभयो ।

शिक्षकहरू भूमिराज शर्मा, लक्ष्मण शर्मा, लक्ष्मण गौतम र जीवनाथ शर्माले सहजीकरण गर्नु भएको तालिममा  एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार कुशल सिप, एकीकृत शिक्षण सिकाइ सहजीकरण योजना निर्माण तथा अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकन प्रक्रिया लगायतका विषयवस्तु समेटिएको  थियो । गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा सम्पन्न समापन सत्रको सञ्चालन शिक्षा तथा खेलकुद उपशाखाका प्राविधिक सहायक सुरेश रिमालले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *