पर्वत ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक अवरुद्ध बनेको छ । लोकमार्गको कुश्मा ७ र ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको हो ।
शनिवार विहान आएको बाढिले एउटा बस फसेको थियो । उक्त बसलाई स्क्याभेटरकाे सहायताले निकालिएको छ । लेदो सहितको भेल निरन्तर बगिरहेकोले सडक खुलाउने प्रयास भइरहे पनि पटक पटक अवरुद्ध भई रहेको छ ।
मालढुंगा–बेनी सडक अवरुद्ध
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुंगा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुंगामा रोकिएका छन् ।