निर्माणाधीन बाजुङ–क्याङ–नागी सडकखण्डको बाउसेमा पहिरोको जोखिम; सरोकारवालाद्वारा अवलोकन

मोदी, पर्वत ।

निर्माणाधीन बाजुङ–क्याङ–नागी सडकखण्डको बाउसेमा करिब आधा किलोमीटर भाग पहिरोको जोखिममा परेको छ । वरिपरिको भाग अत्यन्त जोखिमयुक्त पहिरो क्षेत्र रहेको र वर्षाको कारण जमीन चिरा परेको हुँदा वस्तुस्थिति अवलोकनका लागि गुनासो समाधान समिति सदस्य, परामर्शदाता सुपरभिजन इन्जिनियर र प्रभावित स्थानीय बासिन्दाहरूको टोलीले स्थलगत अवलोकन गरेको छ ।

ग्रामीण पूर्वाधार सुधार आयोजना (RCIP) अन्तर्गत, स्थानीय पूर्वाधार विभाग (DoLI) को समन्वयमा निर्माणाधीन बाजुङ–क्याङ–नागी सडकको ३+६०० देखि ४+१०० चेनिजबीचको अति संवेदनशील पहिरो सम्भावित स्थानको अवलोकन गरिएको हो ।   अवलोकनका क्रममा स्थानियहरुले निर्माण कार्य समयमै नगरेको, अनियन्त्रित रुपमा डाँडा काटिएको र आवश्यक संरचनाहरू नबनाइएका कारण  सम्पूर्ण पहाड खण्ड चिरा परेर गम्भीर पहिरोको जोखिममा परेको गुनासो गरेका छन् । यसबाट माथिको बस्तीसमेत प्रत्यक्ष खतरामा परेको बताएका हुन् ।

अहिले नै एक रोपनीभन्दा बढी जमिन चिरिएको पाइएको छ। यसले स्थानीय बासिन्दाको घर, मन्दिर तथा निजी सम्पत्तिमा ठुलो जोखिम सिर्जना गरेको स्थानीय याम पौडेलले बताउनु भएको छ ।  मनसुन सुरु हुनुअघि तत्काल अस्थायी संरक्षण कार्यहरू गर्न र मुख्य संरचना (रिटेनिङ वाल/सपोर्टिङ वाल) निर्माण कार्य वर्षा सकिए सँगै शुरू गर्ने सम्बन्धित आयोजनाले प्रतिबद्दता गरेको बताइएको छ ।

हरेक सातामा स्थलगत अनुगमन गर्न, काममा पारदर्शिता र जवाफदेहितासहित कार्यान्वयन गर्न, जनताको जीवन, जमिन र सम्पत्तिको पूर्ण सुरक्षा सुनिश्चित गर्नु पर्ने माग गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *