मोदीमा स्थानीय पाठ्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रिया तथा छलफल

पर्वत।

स्थानीय पाठ्यक्रम निर्माण गरी भदौ महिना देखि परीक्षणको रूपमा कार्यान्वयन गरिरहेको मोदी गाँउपालिकाले स्थानीय पाठ्यक्रम (हाम्रो मोदी)कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहले स्थानीय परिवेशअनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयनका क्रममा आई परेका समस्याका सन्दर्भमा शिक्षकहरुसँग अन्तरकृया तथा छलफल गरी पाठ्यपुस्तक र पाठ्यसामग्री निर्माण गर्ने उद्देश्यका साथ सुझाव लिनका लागि कार्यक्रम गरिएको गाँउपालिकाले जनाएको छ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम ” हाम्रो मोदी” लेखनमा सहभागी बिषयगत शिक्षकहरु, विषयविज्ञहरू र शैक्षिक सरोकारवालाहरूको सहभागिता थियो। विज्ञहरूले स्थानीय पाठ्यक्रमले मोदीको चिनारी गराउने र यहाँको समृद्धिका लागि यहीँको समुदायबाट जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। मोदीले बनाएको स्थानीय पाठ्यक्रम अरु स्थानीय तहका लागि पनि उपयोगी दस्तावेज रहने जनाईएको छ ।अन्तर्क्रियामा बालबालिकालाई समुदायसंग जोड्ने र समुदायबाटै केही कुरा सिक्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिईएको थियो ।

मोदीले आधारभूत तह कक्षा १ देखि ८ सम्म पठन पाठन हुने गरी एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम तयार पारेको छ।मोदीमा ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, आर्थिक, समाजिक र विविध विषयहरु समेटेर मोदीको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको जनाईएको छ ।

कार्यक्रममा शिक्षक भुमिराज शर्मा, कुमार उपाध्याय, लक्ष्मण गौतम र लक्ष्मण शर्माको प्रस्तुतीकरण रहेको थियो भने मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्मा, सामाजिक विकास समिती संयोजक शुक बहादुर गुरुङ , उपाध्यक्ष बिमल लामिछाने, प्रशासकीय अधिकृत प्रविन पोख्रेल, सामाजिक शाखा प्रमुख दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम मोदी गाँउपालिकाका संस्थापनकालका  अध्यक्ष तथा स्थानीय पाठ्यसामग्री विकास कार्यदलका सल्लाहकार प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको संचालन शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *