पर्वत ।
विश्व वातावरण दिवसलाई केवल औपचारिकता दिनका लागि मात्र गरिने क्रियाकलापहरू भन्दा पृथक रहेर यहाँको एक विद्यालयका शिक्षक विद्यार्थीहरुले वातावरण संरक्षणका विविध आयामहरुमा पाइला अघि बढाएका छन् ।
जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरमा अवस्थित जन नेत्र माविका विद्यार्थीहरुले विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय परिसरभित्र शुरू गरिएको अर्गानिक तरकारी खेतीकाे संरक्षणका लागि टनेल निर्माण गरेका छन् । सोही अवसरमा विद्यार्थीहरुले कुरिलोको बिरुवाहरू रोपेका छन् । जननेत्र इको क्लबको आयोजनामा विद्यालय परिसरका साथै समुदायमा समेत गएर सरसफाइ गरिएको क्लबका अध्यक्ष प्रेम अधिकारीले जानकारी दिए ।
विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्धेश्यले सामुहिक तरकारी खेतीमा लगाइएको विद्यालयका सहजकर्ता शिक्षक देवेन्द्र गिरीले जानकारी दिए । “अहिले काक्रो, सिमी, जुकेनी लगायतका तरकारीहरू उत्पादन हुन थालेका छन् । यस वर्ष काक्रो निकै राम्रो भएको थियो तर दुई पटक सम्म आएको असिनाले क्षति गर्यो । त्यसैले संरक्षणको लागि टनेल निर्माण गरिरहेका छौं ।” गिरीले भने ।
विद्यालयमा तरकारी खेती सँगै फलफूलका बिरुवाहरू पनि रोपिएको छ । सुन्तला, नासपाती आरु जस्ता फलफूलका बोटहरू छन्। यसवर्ष विद्यालयको बाँझो जमीनलाई उपयोग गर्दै परीक्षणको रूपमा चिया खेती गर्न लागिएको विद्यालयका शिक्षक भूमिराज शर्माले जानकारी दिए । करिब एक हजार चियाका बिरुवा रोप्ने योजना अनुसार खाडल खन्ने काम शुरू भइसकेको शर्माले बताए ।
“शिक्षालाई श्रमसँग जोड्दै व्यावहारिक र सिपमुलक बनाउने उद्देश्यका साथ काम भई रहेको छ । विद्यालयमा पढ्दै कमाउँदै , सिक्दै रमाउँदै अघि बढ्ने वातावरणको निर्माण गर्ने गरी पूर्वाधारहरु बनाउँदै छौं । ” शिक्षक शर्माले भने ।
दैनिक पठनपाठनका अतिरिक्त विद्यार्थी, अभिभावक र समुदायलाई फाइदा पुग्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास तिमिल्सिनाले बताए । अधिकांश विद्यार्थीहरू दलित तथा विपन्न समुदायबाट पढ्न आउने हुँदा उनीहरुलाई आय आर्जनका सीप तथा प्रविधीहरुसंग परिचित गराई पठन पाठनमा सहयोग पुर्याउन प्रयास गरिरहेको तिमिल्सिनाले बताए ।
उक्त विद्यालयको अर्गानिक तरकारी खेती तथा सरसफाइ अभियानमा चिल्ड्रेन नेपालले प्राविधिक सहयोग गरिरहेको छ भने मोदी गाउँ पालिकाले पनि परीक्षणको रूपमा हाई टेक टनेल निर्माण गर्ने भएको छ ।